दमौली । तनहुँको ऋषिङ गाउँपालिकाले एकल पुरुष र असल बुहारीलाई नगद सहित सम्मान गरेको छ । गाउँपालिकाको बाह्रौ गाउँसभाबाट पारित बजेट सार्वजनिक गर्न शुक्रबार आयोजित कार्यक्रममा एकल पुरुष र असल बुहारीलाई नगद सहित सम्मान गर्नुका साथै ज्येष्ठ नागरिकलाई ब्ल्याङ्केट वितरण गरिएको हो ।
गाउँपालिकाका आठ वडाका प्रत्येक वडाबाट दुई जनाका दरले १६ जना असल बुहारीलाई नगद रु चार हजार सहित सम्मान गरिएको प्रवक्ता विजय दरैले जानकारी दिए ।
त्यस्तै आठ वडाका प्रत्येक वडाबाट चार जनाका दरले ३२ एकल पुरुषलाई नगद रु चार हजार सहित पुरस्कृत गरिएको छ । ५० वर्षमाथिका एकल पुरुषलाई प्रोत्साहन भत्ता दिने अघिल्लो वर्षको नीति तथा कार्यक्रम बमोजिम उनीहरुलाई नगद सहित सम्मान गरिएको हो । त्यस्तै आठ वटै वडाका ६४ जना ज्येष्ठ नागरिकलाई ब्ल्याङ्केट सहित सम्मान गरिएको छ ।
गाउँसभाले सेवाग्राहीका लागि फोटोकपीमा छुट, कृषि तथा पशु फार्म नवीकरणमा निशुल्क, कृषि तथा पशुपालनजन्यमा वार्षिक व्यावसायिक करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७९÷८० का लागि रु ४९ करोड ९९ लाख ४९ हजारको बजेट पारित गरेको छ । त्यसमध्ये सङ्घीय सरकार समानीकरण अनुदानतर्फ रु ११ करोड १३ लाख, सङ्घीय सरकार शशर्त अनुदानबाट रु २३ करोड ५१ लाख, प्रदेश सरकार समानीकरण अनुदानबाट रु एक करोड २६ लाख ५६ हजार, सङ्घीय सरकार राजश्व बाँडफाँटबाट रु दश करोड ३४ लाख ८८ हजार, प्रदेश सरकार राजश्व बाँडफाँटबाट रु ७४ लाख पाँच हजार, आन्तरिक आय रु एक करोड दश लाख, प्रदेश सरकार विशेष अनुदानबाट रु ५० लाख, समपुरक अनुदानबाट रु ५० लाख आम्दानी हुने अनुमान छ ।
गाउँपालिकाले आर्थिक, पूर्वाधार, शिक्षा, सामाजिक चेतना विकास तथा संस्कृतिलाई विशेष प्राथमिकता दिएर नीति, कार्यक्रम र बजेट बनाएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।