भानुमा दिवा खाजामा विद्यार्थीको हाजिरीभन्दा १७ लाख बढी भुक्तानी, रकम फिर्ता गर्न निर्देशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुमा दिवा खाजामा विद्यार्थीको हाजिरीभन्दा १७ लाख बढी भुक्तानी, रकम फिर्ता गर्न निर्देशन

    खबरपुञ्ज संवाददाता

    ३० असार २०७९, शुक्रबार

    दमाैली । तनहुँको भानु नगरपालिकाले दिवा खाजा कार्यक्रममा विद्यार्थी सङ्ख्या भन्दा बढी रकम भुक्तानी गरेको पाइएको छ । आर्थिक वर्ष ०७७÷७८ मा नगरपालिकाले विद्यार्थी सङ्ख्या भन्दा बढी रकम दिवा खाजाका लागि निकासा गरेको पाइएको हो ।

    नगरपालिकाले ५७ विद्यालयका तीन हजार छ सय ६२ विद्यार्थीका लागि माघदेखि वैशाखसम्मका ९९ दिनका लागि रु १५ दरका दरले ५४ लाख ३८ हजार रकम निकासा गरेको थियो । तर विद्यालयको प्रमाणित हाजिरी रुजु गर्दा ४८ विद्यालयमा विद्यार्थीको हाजिरीभन्दा रु १७ लाख ३४ हजार बढी भुक्तानी भएको पाइएको छ ।

    विद्यार्थी सङ्ख्या बढी देखाई रकम झ्वाम पार्ने उद्देश्य सहित बढी रकम निकासा भएको खुलेको छ । महालेखा परीक्षकको कार्यालयले उक्त रकम फिर्ता गरी सञ्चित कोषमा दाखिला गर्न निर्देशन दिएको छ ।

    शिक्षा विकास तथा मानवस्रोत विकास केन्द्रको कार्यक्रम कार्यान्वयन पुस्तिका २०७७÷७८ मा सामुदायिक विद्यालयका बालकक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गरिएको छ ।