दमाैली । व्यास नगरपालिकाले वडा नम्बर २ का अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरेपछि सामाजिक सञ्जाल निकै तातियो । दमौलीका प्रतिष्ठित व्यवसायीलाई निस्सा बाँडेको भन्दै सर्वसाधारणबाट चर्को आलोचना भयो ।
नगरपालिकाले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दर्ताको निस्सा वितरण गरेको थियो । अव्यवस्थित बसोबासीमा निवेदन दर्ता गरेकालाई निस्सा वितरण गरिँदा आलोचना भएपछि राष्ट्रिय भूमि आयोग तनहुँले पत्रकार सम्मेलनमार्फत् नै यस विषयमा प्रष्टीकरण दिएको छ ।
आयोगका अध्यक्ष रामचन्द्र अधिकारीले अहिले वितरण गरिएको निवेदन दर्ताको निस्सा मात्रै भएकाले निस्सा बाँड्दैमा लालपूर्जा पाउने निश्चित नभएको बताए ।
“अहिले केही पालिकामा निस्सा वितरण गर्दा लालपूर्जाको निस्सा वितरण भयो भन्ने भ्रम पनि फैलियो, यो निवेदनको निस्सा मात्र हो,” अधिकारीले भने ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले अहिले निवेदन दर्ताको निस्सा मात्रै बाँडिएकाले सामाजिक सञ्जालमा भ्रम फैलाउने काम भएकाले सत्यतथ्य बुझ्न आवश्यक रहेको बताए । पत्रकारले पनि नबुझीकन समाचार लेखेको भन्दै न्यौपानेले अध्ययन गरेर मात्र लेख्न सुझाव दिए । “लालपूर्जाको निस्सा बाँडियो भनेर भ्रम फैलाउने काम भयो, यो निवेदन दर्ताको निस्सा मात्र हो,” उनले भने ।
व्यास नगरपालिकामा करिब पाँच सय भूमिहिन दलित, पाँच सय भूमिहिन सुकुम्बासी र करिब छ हजार अव्यवस्थित बसोबासीको निवेदन दर्ता भएको छ । अव्यवस्थित बसोबासीले पनि सबै प्रक्रिया पूरा गरेर जग्गा पाउने खण्डमा मालपोतको चलनचल्तीको मूल्य अनुसार जग्गा खरिद गर्नुपर्ने न्यौपानेले बताए ।