व्यवसायीसँग पाैडेलले भने – विकासका लागि राजनीति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यवसायीसँग पाैडेलले भने – विकासका लागि राजनीति

    खबरपुञ्ज संवाददाता

    ८ श्रावण २०७९, आईतवार

    दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासका लागि आफूले मिसनको राजनीति गरेको बताएका छन् । नेपाली काङ्ग्रेस व्यास नगर समितिको संयाेजनमा आइतबार दमौलीमा आयोजित व्यवसायीको छलफल कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले देश विकासको मुख्य एजेण्डा लिएर नै आफूले राजनीति गर्दै आएको बताए ।

    “मेरो व्यक्तिगत कुनै स्वार्थ छैन, देश विकास नै मुख्य स्वार्थ हो,” उनले भने, “राष्ट्रका लागि सधैभर लागिरहन्छु ।” वरिष्ठ नेता पौडेलले स्वार्थी मानिसहरुसँग बच्नुपर्ने बताउनुभयो । “कोही झ्यापझुप आउँछन्, पैसाले चुनाव लड्न खोज्छन्, त्यो राजनीति होइन,” पौडेलले भने।

    गाउँमै रोजगारी, गाउँमै आम्दानी बनाउने मुख्य लक्ष्य रहेको र त्यो अझै पनि पूरा हुन नसकेको वरिष्ठ नेता पौडेलको भनाई थियो । गाउँबाट मानिस शहरतिर विस्थापित भइरहेकाले गाउँमै रोजगारीको वातावरण सिर्जना गर्न सके मानिस गाउँमै बस्ने पौडेलले बताए ।

    वरिष्ठ नेता पौडेलले पार्टीभित्र सबैलाई मिलाएर लैजाने आफ्नो चाहना रहेको बताए । “पार्टीभित्र सबैलाई एकै ठाउँमा हिँडाउने प्रयास गर्दै आएको छु, राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र भन्ने हुँदैन,” उनले भने “राजनीतिमा प्रतिस्पर्धा हुन्छ, कोसँग दृष्टिकोण छ त्यसलाई हेरेर जनताले रोज्नु पाउनुपर्छ ।”

    लामो समयको बहसपछि देश सङ्घीयतामा अगाडी बढिरहेकाले अहिल्यै प्रदेशको औचित्यबारे टिप्पणी गर्न हतार हुने पौडेलको भनाई थियो । “सातवटा प्रदेश विकासका लागि कत्तिको फलदायी हुन्छ, त्यो परीक्षणको क्रममा छ,” उनले भने ।

    कार्यक्रममा तनहुँ उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष इमकुमार मल्लले काङ्ग्रेसलाई अप्ठ्यारो परेको बेला मात्र व्यवसायी खोजी गर्ने परम्पराको अन्त्य गर्नुपर्ने सुझाव दिए। “चुनाव आउन लागेका बेला मात्रै व्यवसायी खोज्ने होइन, व्यवसायीको पीरमर्का के छ भन्ने बारेमा पार्टीले सधैँ चासो राख्नुपर्छ,” उनले भने । व्यवसायी वैकुण्ठनाथ मिश्रले पार्टीभित्रका नेताहरु एकजुट हुन नसकेकाले समस्या हुँदै आएको बताए ।

    सूचना: www.khabarpunja.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।