विकास निर्माणमा ढिलासुस्ती नहोस् : वरिष्ठ नेता पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विकास निर्माणमा ढिलासुस्ती नहोस् : वरिष्ठ नेता पौडेल

    खबरपुञ्ज संवाददाता

    ७ श्रावण २०७९, आईतवार

    दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास निर्माणका काममा ढिलासुस्ती नगर्न सुझाव दिएका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँको समन्वयमा आइतबार आयोजित सरकारी कार्यालयका प्रमुखहरुसँगको छलफल कार्यक्रममा वरिष्ठ नेता पौडेलले विकास निर्माणका काममा ढिलासुस्ती गर्नेलाई कानूनबमोजिम कारबाही गर्नुपर्ने बताए ।

    तनहुँ जिल्लामा भइरहेका विकास गतिविधिबारे चासो राख्दै वरिष्ठ नेता पौडेलले भने, “विकास निर्माणका काममा निर्माण व्यवसायीको ढिलाइ र कमीकमजोरीलाई प्रशासनले कडाइ गर्नुपर्छ । गलत काम गरे कानूनबमोजिम दण्ड जरीवाना बेहोर्नुपर्छ भन्ने अनुभूति दिलाउनुपर्छ ।”

    वरिष्ठ नेता पौडेलले साउन मसान्तभित्र विकास योजनाको ठेक्का सम्झौता गरिसक्नुपर्नेमा जोड दिए । विकासका कामलाई गुणस्तरीय बनाउन सम्बन्धित कार्यालयको तर्फबाट पटक–पटक अनुगमन गर्न वरिष्ठ नेता पौडेलले आग्रह गरे ।

    तनहुँको विकासका लागि बजेटको कुनै कमी नहुने बताउँदै पौडेलले जिल्लाको विकासको जिम्मा आफूले लिने प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रममा जिल्लास्थित पूर्वाधार विकास कार्यालय, सडक डिभिजन कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, सिँचाइ विकास कार्यालय, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुखहरुले आर्थिक वर्ष ०७८÷०७९ मा सम्पन्न भएका कार्यक्रमबारे प्रस्तुती राखेका थिए ।

    उक्त कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्मा, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललगायतको सहभागिता थियो ।