तनहुँका स्थानीय तहद्वारा मरिसकेका व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता निकासा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    तनहुँका स्थानीय तहद्वारा मरिसकेका व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता निकासा

    खबरपुञ्ज संवाददाता

    १४ श्रावण २०७९, आईतवार

    दमाैली । तनहुँका अधिकांश स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । जिल्लाका देवघाट गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, भिमाद नगरपालिकाले मृत्यु भइसकेका व्यक्तिको नामबाट समेत भत्ता वितरण गरेको पाइएको हो ।

    देवघाट गाउँपालिकामा आर्थिक वर्ष ०७७÷७८ मा चार जना मृत्यु भइसकेका लाभग्राहीको नाममा रु ४८ हजार एक सय भत्ता वितरण भएको छ । देवघाट–५ का विहारीलाल सापकोटाको नाममा दोस्रो चौमासिकमा रु १२ हजार, सोही वडाका तुलसी सुवेदीको नाममा दोस्रो चौमासिकमा रु १२ हजार, देवघाट–३ का धनमाया पौडेल क्षेत्रीको नाममा दोस्रो चौमासिकमा रु १२ हजार र सोही वडाका अम्मरबहादुर थापाको नाममा तेस्रो चौमासिकमा रु १२ हजार भत्ता वितरण भएको छ ।

    सापकोटाको विसं २०७७ पुस १७, सुवेदीको २०७७ माघ ३०, क्षेत्रीको २०७७ पुस १८ र थापाको २०७७ चैत ४ गते मृत्यु भएको थियो ।

    सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ को दफा १२ मा लाभग्राहीको मृत्यु भएमा मृत्यु दर्ताको सूचना फारम बमोजिम स्थानीय तहको मूल अभिलेखकबाट लगत कट्टा गर्नुपर्ने व्यवस्था छ ।

    ऋषिङ गाउँपालिकामा तीन जना मृत्यु भइसकेका व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता वितरण भएको छ । ऋषिङ–७ का भिमबहादुर दमाईको नाममा प्रथम चौमासिकमा रु तीन हजार, विष्णुमाया आलेको नाममा प्रथम चौमासिकमा रु नौ हजार, डिलबहादुर थापाको नाममा प्रथम चौमासिक र ११ हजार दोस्रो र तेस्रो चौमासिकमा रु २४ हजार भत्ता वितरण भएको छ ।

    दमाईको विसं २०७७ असोज २८ गते, आलेको विसं २०७७ भदौ १ गते र थापाको विसं २०७७ साउन १० गते मृत्यु भएको थियो ।

    सामाजिक सुरक्षा नियमावली २०७६ को नियम १३ मा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको मृत्यु भएमा उक्त लाभग्राहीलाई भत्ता पाउने सूचीबाट हटाई मृत्यु भएको दिनदेखि भत्ता दिन रोक्नुपर्ने व्यवस्था भएकामा पालिकाले चौमासिक भत्ता वितरण गर्दा मृत्युपश्चात् पनि भत्ता निकासा गरेको छ ।

    शुक्लागण्डकी नगरपालिकाले मृत्यु भएका आठ जना ज्येष्ठ नागरिकको नाममा भत्ता वितरण गरेको छ । शुक्लागण्डकी–१० का केसरी थापालाई तेस्रो चौमासिकको रु चार हजार पाँच सय, दानबहादुर थापालाई तेस्रो चौमासिकको रु तीन हजार, शुक्लागण्डकी–५ का हुमनाथ भण्डारीलाई तेस्रो चौमासिकको रु पाँच हजार, शुक्लागण्डकी–७ का रुपा विकलाई प्रथम चौमासिकको रु तीन हजार, पुुमादेवी विकलाई प्रथम चौमासिकको रु तीन हजार तीन सय, चोलाकुमारी श्रेष्ठलाई प्रथम चौमासिकको रु दुई हजार पाँच सय, उजेली सार्कीलाई प्रथम चौमासिकको रु आठ हजार र नोमलाल बस्याललाई तेस्रो चौमासिकको रु सात हजार सात सय वितरण गरिएको छ ।

    महालेखा परीक्षकको कार्यालयले व्यक्तिको मृत्युपश्चात् पनि भत्ता निकासा गरेकाले उक्त सामाजिक कर भत्ता असुल गरी सङ्घीय सञ्चित कोषमा दाखिला गर्न निर्देशन दिएको छ ।

    आँबुखैरेनी गाउँपालिकाले सात जना मृत्यु भइसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । आँबुखैरेनी–३ का वेदनारायण श्रेष्ठलाई तेस्रा चौमासिकको रु नौ हजार आठ सय, दलबहादुर परियारलाई दोस्रो र तेस्रो चौमासिकको रु सात हजार सात सय ४१, आँबुखैरेनी–५ का जालुमा गुरुङलाई तेस्रो चौमासिकको रु दुई हजार नौ सय, आँबुखैरेनी–४ का रामबहादुर भुजेललाई पहिलो चौमासिकको रु एक हजार आठ सय र दोस्रो चौमासिकको रु एक हजार तीन सय र आँबुखैरेनी–६ का आशबहादुर गुरुङलाई तेस्रो चौमासिकको रु दुई हजार सात सय वितरण गरिएको छ ।

    घिरिङ गाउँपालिकाले आठ जनालाई मृत्यु भएपश्चात् पनि भत्ता वितरण गरेको छ । घिरिङ–३ का गजकेशर थापालाई प्रथम र दोस्रो चौमासिक गरी रु १२ हजार, नरबहादुर कामीलाई तेस्रो चौमासिकको रु नौ हजार, मानबहादुर श्रेष्ठलाई तेस्रो चौमासिकको रु नौ हजार, सेती श्रेष्ठलाई तेस्रो चौमासिकको रु आठ हजार दुई सय, घिरिङ–४ का नरिमाया राना मगरलाई दोस्रो र तेस्रो गरी रु १६ हजार सात सय, लिलबहादुर कुमाललाई दोस्रो चौमासिकको रु तीन हजार सात सय, मोतीराज रानाभाटलाई तेस्रो चौमासिकको रु चार हजार सात सय र घिरिङ–१ का मुक्तिलाल कुमाललाई तेस्रो चौमासिकको रु दुई हजार छ सय वितरण गरिएको छ ।

    त्यसमध्ये गजकेशरको २०७७ कात्तिक २२, नरबहादुरको चैत २५, मानबहादुरको चैत २५, सेतीको २०७८ वैशाख ८, नरिमायाको विसं २०७७ माघ १३, लिलबहादुरको माघ २३, मोतीराजको २०७८ जेठ १३ र मुक्तिलालको असार ४ गते मृत्यु भएको थियो ।

    भिमाद नगरपालिकाले तीन जना ज्येष्ठ नागरिकको मृत्यु पश्चात् पनि भत्ता वितरण गरेको छ । भिमाद–२ का सेती आलेलाई प्रथम चौमासिकको रु पाँच हजार आठ सय, नहलसिं थापालाई प्रथम चौमासिकको रु दुई हजार आठ सय र भिमाद–६ का मनबहादुर विकलाई तेस्रो चौमासिकको रु तीन हजार वितरण गरिएको छ । सेतीको २०७७ असोज २, नलहसिंको कात्तिक २ र मनबहादुरको २०७८ जेठ ३० गते मृत्यु भएको थियो ।

    बन्दीपुर गाउँपालिकाले छ जना मृत्यु भइसकेकाको नाममा भत्ता वितरण गरेको छ । बन्दीपुर–३ का डम्बरबहादुर गुरुङलाई तेस्रो चौमासिकको रु चार हजार पाँच सय, बन्दीपुर–४ का नेप्टिमाया गुरुङलाई तेस्रो चौमासिकको रु पाँच हजार एक सय, रणबहादुर गुरुङलाई तेस्रो चौमासिकको रु दश हजार एक सय, चन्द्रबहादुर विकलाई तेस्रो चौमासिकको रु तीन हजार तीन सय, लिलादेवी अधिकारीलाई तेस्रो चौमासिकको रु आठ हजार चार सय मनबहादुर मगरलाई दोस्रो र तेस्रो चौमासिकको रु १६ हजार एक सय वितरण गरिएको छ ।

    त्यसमध्ये डम्बरको २०७८ असार १५, नेप्टिमायाको जेठ ९, रणबहादुरको २०७७ चैत १९, चन्द्रबहादुरको २०७८ जेठ २७, लिलादेवीको २०७८ वैशाख ६ र मनबहादुरको २०७७ माघ १९ गते मृत्यु भएको थियो । महालेखा परीक्षकको कार्यालयले मृत्युपश्चात् निकासा भएको भत्ता असुल गरी सङ्घीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने भनेको छ ।

    भानु नगरपालिकाले मृत्यु भएका ११ जनाको नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । भानु–१३ का दिलकुमारी श्रेष्ठको दोस्रो चौमासिक बापतको रु १२ हजार, काली परियारको तेस्रो चौमासिक बापतको रु आठ हजार, जुठी थापाको दोस्रो र तेस्रो बपतको रु २४ हजार, भानु–१ का हर्कबहादुर लामाको दोस्रो चौमासिक बापतको रु १२ हजार, भानु–१२ का हरिबहादुर क्षेत्रीको तेस्रो चौमासिक बापतको रु १२ हजार, राममाया अधिकारीको तेस्रो चौमासिक बापतको रु १२ हजार, प्रेममाया थापाको तेस्रो चौमासिक बापतको रु १२ हजार, विष्णुमाया गुरुङको तेस्रो चौमासिक बापतको रु १२ हजार, भगवती केसीको तेस्रो चौमासिक बापतको रु १२ हजार, भानु–४ का सुकमाया गुरुङको तेस्रो चौमासिक बापतको रु १२ हजार, पशुपतिनाथ ढकालको तेस्रो चौमासिक बापतको रु १२ हजार निकासा गरिएको छ ।

    सूचना: www.khabarpunja.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।