दमौली । म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कला र संस्कृति देशको अमुल्य गहना भएको बताएका छन् । नेपालको संस्कृति बिर्सदै जाने त र विदेशी संस्कृति अंगाल्दै जाने संस्कृतिले हामीमा परनिर्भरता बढेको उनले बताए ।
वाराही महिला बहुउद्धेश्यी सहकारी संस्थाद्वारा नेपाली नारीहरुको महानपर्व हरितालिका तिजको अवसरमा आयोजित समाज परिवर्तनमा महिलाको भूमिका विषयक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
एकाध धर्म र संस्कृति बाहेक नेपालको कला र सम्पदा विश्वका नै उत्कृष्ट सस्कृति भएको बताउँदै उनले भने, ‘ हामी अनुशासित र मर्यादित हुनका लागि हिजोको हाम्रो शिक्षा, सस्कृति र पुर्वव्यवसायिक शिक्षा अपरिहार्य छ । देखासिकीको नाममा सवैजना डाक्टार, ईन्जिनियर, नर्स पढ्दा त्यसले समस्या ल्याएको छ ।’
महिलाको उपस्थितिले नै समाज निर्माणमा महत्वपुर्ण भूमिका खेल्नेहुदाँ गाउँपालिका सधै महिलाको क्षमता अभिवृद्धिमा साथ रहेको उनले बताए ।
कार्यक्रममा म्याग्दे गाउँपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले संस्कृतिको जगेर्नाका लागि गरिएको तिज गीत प्रतियोगिता सराहनीय भएको बताए ।
६ वटा समूहले भाग लिएको तिज गीत प्रतियोगितामा आर्दश युवा क्लव महेन्द्र मावि प्रथम भएको थियो । कार्यक्रममा सयपत्री आमा समुह, गणेश आमा समुह, महिला जागरण आमा समुह, नौ धरे आम समुह, एकता मगर समाज लगायतका उपस्थिती रहेको थियो ।