दमौली । व्यास नगरपालिका-१० स्थित मंगलीगैह्रामा सरसफाई केन्द्र बनाउने नगरपालिकाको निर्णयमा विरोध सुरु भएको छ। नगरपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकले मंगलीगैह्रामा सरसफाई केन्द्र बनाउने निर्णय गरेलगत्तै विरोध सुरु भएको हो ।
नगरपालिकाले त्यहॉ रहेको प्रस्तावित जग्गा खरिदका लागि संघीय सरकारसँग स्वीकृति माग गर्ने निर्णय गरेको छ ।
व्यास-१० का स्थानीय एवं कांग्रेसका स्थानीय नेता श्रीकृष्ण आचार्यले यो निर्णय अदुरदर्शी भएको बताए । घना बस्तीको बीचमा सरसफाई केन्द्र बनाउने तयारीको उनले विरोध गरे ।
स्थानीय एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जीवि अधिकारीले यो निर्णय तुरुन्त फिर्ता लिन आग्रह गरे ।
नेविसंघका नेता उत्तम मिश्रले बस्तीको बीचमा सरसफाई केन्द्र बनाउने निर्णय खेदजनक भएको बताए । ‘सुन्दर बस्तीको बीचमा डम्पिङ साइट निर्माण गर्ने व्यासनगर पालिकाको प्रसिताव खेदजनक छ। सस्तो मूल्यमा जग्गा किनेर बढी मुआब्जा असुल्ने बाहानामा जनताको जनस्वास्थ्यमा खेलवाड गर्ने छुट कसैलाई छैन,’ उनले भने ।
व्यास-१० कै स्थानीय एवं पत्रकार महासंघका अध्यक्ष उज्वल पौडेलले सुन्दर बस्तीमा डम्पिङ साइट बनाउने निर्णय खेदजनक रहेको बताए ।