दमौली । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि तनहुँमा राजनीतिक दलको तयारीले चुनावी सरगर्मी बढेको छ । जिल्लाका साना तथा ठूला राजनीतिक दलले निर्वाचन केन्द्रित भेला, प्रशिक्षण, बैठक आयोजना गरेसँगै चुनावी सरगर्मी बढेको हो ।
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ, शङ्कर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेलको गृहजिल्ला भएका कारण पनि यहाँ चुनावी चर्चा बढी छ ।
विभिन्न दलका नेताहरुले उम्मेदवारी घोषणा गर्ने क्रम पनि बढेको छ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ क्षेत्र नम्बर १ मा आफूहरुको दावी पत्रकारसम्मेलन मार्फत् गरिसकेका छन् ।
तनहुँ क्षेत्र नम्बर १ मा नेपाली काङ्ग्रेसका तर्फबाट पूर्वमन्त्री शङ्कर भण्डारीको पनि दावी छ । अघिल्लो पटक क्षेत्र नम्बर २ बाट पराजित भण्डारी यसपटक भने तनहुँ क्षेत्र नम्बर १ मै उम्मेदवार बन्ने चाहनामा छन् ।
नेकपा (एमाले) का तर्फबाट गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङ तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवार बन्ने चर्चा छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट जिल्ला अध्यक्ष विनोद घर्तीले तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्। यसैगरी तनहुँ क्षेत्र नम्बर १ मा स्वतन्त्र रुपमा प्रविण पौडेलले उम्मेदवारी घोषणा गरेका छन् ।
उता तनहुँ क्षेत्र नम्बर २ मा नेपाली काङ्ग्रेसका तर्फबाट केन्द्रीय सदस्य प्रदीप पौडेलको दावी छ । नेकपा (एमाले) का तर्फबाट स्थायी कमिटी सदस्य किरण गुरुङ, वर्तमान प्रतिनिधि सभा सदस्य केदार सिग्देल, पोलिटव्युरो सदस्य टुकराज सिग्देलको दावी छ ।
नेपाली काङ्ग्रेसले निर्वाचनलाई लक्षित गरी ‘जनताको साथमा काङ्ग्रेस’ शुक्रबारदेखि सुरु गरेको छ । यो अभियानका लागि केन्द्रीय कार्यसमितिले केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेलाई तनहुँमा प्रतिनिधिका रुपमा खटाएको छ । अभियानको पहिलो चरण भदौ १० देखि २४ गतेसम्म सञ्चालन हुने काङ्ग्रेस जिल्ला सचिव लक्ष्मीभक्त खनालले बताए ।
नेपाली काङ्ग्रेसले यो अभियानका लागि जिल्लाका दशवटै पालिकामा प्रतिनिधि परिचालन गरेको छ । व्यासमा प्रा.डा. कृष्ण गौतम, भानुमा देवकुमार श्रेष्ठ, बन्दीपुरमा सहदेव अधिकारी, देवघाटमा सरिता गुरुङ, आँबुखैरेनीमा चिनु पोख्रेल, शुक्लागण्डकीमा मिलन आले, ऋषिङमा हरि वाग्ले, म्याग्देमा श्रीराम सुवेदी, भिमादमा किसान गुरुङ र घिरिङमा रामकृष्ण विक खटिएका छन्।
यो अभियान प्रत्येक पालिकामा भदौ १५ गते, ८५ वडामा भदौ १८ गते र १९ देखि २२ गतेसम्म वडाको टोलमा सञ्चालन गरिने खनालले जानकारी दिए । “नेपाली काङ्ग्रेस पूर्ण रुपमा निर्वाचन केन्द्रित अभियानमा जुटिसकेको छ,” खनालले भने ।
नेकपा एमाले तनहुँले जिल्लास्तरको प्रशिक्षण, पालिकास्तरको प्रशिक्षण र बैठक आयोजना गरेको छ । निर्वाचनलाई लक्षित गरी सबै पालिकामा भेला, प्रशिक्षण र बैठक सञ्चालन गरिएको एमाले तनहुँका उपाध्यक्ष हरिराज कंडेलले जानकारी दिए ।
सत्तारुढ नेकपा एकीकृत समाजवादी तनहुँ उम्मेदवार सिफारिस गरेको छ । केन्द्रीय कमिटीले उम्मेदवार सिफारिस गर्न निर्देशन दिएसँगै दुई निर्वाचन क्षेत्र र चार प्रदेशसभा क्षेत्रमा बैठक बसेर उम्मेदवार सिफारिस गरिएको र उक्त सिफारिस जिल्ला समिति हुँदै केन्द्रमा पठाइने जिल्ला सचिव श्रीराम कार्कीले जानकारी दिए ।
सत्तारुढ जनता समाजवादी पार्टी तनहुँले भने उम्मेदवार सिफारिस गरिसकेको छ । जसपा तनहुँको जिल्ला कार्य समिति बैठकले तनहुँका दुई सङ्घीय क्षेत्र र दुई प्रदेशसभा क्षेत्रमा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो ।
तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा जसपाका केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री शिवलाल थापा मगरलाई सिफारिस गरिएको छ । त्यस्तै तनहुँ क्षेत्र नम्बर १ को प्रदेश (क) मा टेकबहादुर गुरुङ र प्रदेश (ख) मा सामाजिक अभियान्ता जनजाति समुदायमा लोकप्रिय युवा खड्क आले मगर सिफारिस भएका छन् ।
तनहुँ क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा केन्द्रीय विज्ञ परिषद् सदस्य सोमबहादुर नेपालीलाई सिफारिस गरिएको जसपाका जिल्ला अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए ।