दमौली । तनहुँ समाज हङकङले प्रदान गर्ने युवा पत्रकारिता पुरस्कार यसवर्ष कृष्ण न्यौपाने र प्रताप रानामगरलाई प्रदान गरिने भएको छ ।
खबरपुञ्ज डटकमका कार्यकारी सम्पादक एवं राष्ट्रिय समाचार समिति (रासस) प्रतिनिधि न्यौपाने र कान्तिपुर टेलिभिजनका प्रतिनिधि राना मगरलाई ‘युवा पत्रकारिता पुरस्कार, २०७९’ बाट पुरस्कृत गर्न लागिएको हो ।
उक्त पुरस्कार समाजले स्थापना दिवसको अवसरमा भदौ १५ बुधबार आयोजित कार्यक्रममा प्रदान गरिने तनहुँ समाज हङकङका तनहुँ संयोजक प्रदीप काफ्लेले जानकारी दिए ।
पत्रकारद्वय न्यौपाने र रानाले समाजद्वारा गरिएको सामाजिक सेवाको समाचार सम्प्रेषण गरी योगदान पु¥याएकाले पुरस्कारका लागि छनोट गरिएको जनाइएको छ । उक्त पुरस्कारको राशी रु पाँच हजार पाँच सय ५५ रहेको छ ।
पुरस्कृत हुन लागेका न्यौपाने नेपाल पत्रकार महासङ्घ तनहुँका निवर्तमान सहसचिव र राना हालका सचिव छन् ।
समाजले प्रत्येक वर्ष दुई पत्रकारलाई यो पुरस्कार प्रदान गर्दै आइरहेको छ । हालसम्म यो पुरस्कारबाट पत्रकार ओमकार आचार्य, सोनी शर्मा, सुनिता आचार्य, नारायण खड्का र अमरराज नहर्की पुरस्कृत भइसकेका छन् ।
समाजले तनहुँमा विगत एघार वर्षदेखि शिक्षा, स्वास्थ्य, खानेपानीलगायत सामाजिक क्षेत्रमा योगदान गर्दै आइरहेको छ । समाजले कोभिड महामारीको बेला दश वटै स्थानीय तहमा रु १५÷१५ हजार सहयोग गरेको थियो ।
केही वर्ष अगाडी पहिरोबाट पीडित भएका ऋषिङका पहिरो पीडितलाई समाजले रु दुई लाख ४४ हजार सहयोग गरेको थियो । समाजले जिल्लाको शैक्षिक क्षेत्रमा योगदान पु¥याउन रु १५ लाखको अक्षयकोष पनि स्थापना गरेको छ ।
२०५६ सालमा स्थापित समाजले जिल्लाको विभिन्न विद्यालयमा उक्त अक्षयकोषको व्याजबाट प्राप्त रकमले सहयोग गर्दै आइरहेको छ । दमौली स्थित गण्डकी विकास बैङ्कमा स्थापित अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष बालबालिकाका लागि समाजले सहयोग गर्दै आएको छ ।
समाजले यसका अतिरिक्त भानु जन्मस्थल विकास समितिमा रु पाँच लाखको लगानीमा पुस्तकालय स्थापना गरेको छ भने साथै क्यामिनको छापथोक, भीमादलगायत स्थानमा खानेपानी आयोजनामा पनि आर्थिक सहयोग गरेको छ ।