दमौली । नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारको थुनामा रहेका नायक पल शाहको पेशी तनहुँ अदालतमा आज तोकिएको छ ।
शाह विरुद्ध आज अदालतमा सुनुवाई हुनेछ । नवलपुर अदालतमा भने भदौ ८ गते पेशी रहेकामा स्थगित भएर २१ गतेलाई तोकिएको छ ।
तनहुँ अदालतले शाहलाई थुनामै राख्न वा रिहा गर्न सक्ने आदेश दिनेछ ।
नावालिकमाथि जबरजस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए। शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अभिनेता शाहले आफू निर्दोष रहेको भन्दै रिहा गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दिएपनि अदालतले उक्त निवेदन अस्वीकृत गरिदिएको थियो ।