राहदानीबाट तनहुँमा चार करोड ४२ लाख राजस्व सङ्कलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    राहदानीबाट तनहुँमा चार करोड ४२ लाख राजस्व सङ्कलन

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष २०७८/७९ मा रु चार करोड ४२ लाख राजस्व सङ्कलन भएको छ । सो आवमा जिल्लाबाट छ हजार छ सय १९ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए ।

    त्यस्तै आठ हजार आठ सय ५४ जनाको राहदानीका लागि जिल्लाबाट सिफारिस गरिएको छ भने आठ सय ७२ दु्रत सेवाका लागि सिफारिस गरिएको छ । कार्यालयले एक वर्षको अवधिमा विभिन्न शीर्षकबाट रु चार करोड ८० लाख राजस्व सङ्कलन गरेको छ ।

    संस्था दर्ता, हातहतियार, राहदानी दस्तुर, न्यायिक दण्ड जरिवाना, प्रशासनिक दण्ड, जरिवाना र जफत, बेरुजु र परीक्षा शुल्कबाट उक्त राजस्व सङ्कलन गरेको हो । सो अवधिमा ५२ मुद्दा दर्ता भएको छ । दुई हजार चार सय ७० जनालाई आदिवासी जनजाति प्रमाणित, एक हजार ८० जनालाई दलित प्रमाणित, एक हजार आठ सय ७८ लाई पेन्सन सिफारिस गरिएको छ ।

    कार्यालयमा ८४ संस्था नयाँ दर्ता भएकामा सात सय ८५ संस्थाको नवीकरण भएको छ । ९९ हातहतियार नवीकरण भएकामा छवटा नामसारी गरिएको छ । यस अवधिमा एक पत्रपत्रिका दर्ता भएको कार्यालयले जनाएको छ ।