दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गुणादीको पानीको विषयमा दिएको अभिव्यक्तिले गुणादीवासी आक्रोशित भएका छन् । पौडेलको अभिव्यक्तिको विरोध गर्दै गुणादीका युवाहरुले शनिबारदेखि नै दमौली ल्याइएको पानी बन्द गराएका छन् ।
दमौलीमा आयोजित पार्टीको कार्यक्रममा पौडेलले गुणादीको चुना परेको पानी खाँदा विगतमा दमौलीवासी बिरामी पर्ने गरेकाे र अहिले मादीको पानी खाएपछि सबै निरोगी भएको अभिव्यक्ति दिएका थिए ।
पौडेलको उक्त अभिव्यक्तिले गुणादीवासीको मनमा ठेस लागेको स्थानीयले बताएका छन् । गुणादी टोल सुधारका अध्यक्ष रन्जित आलेले विगतमा जामुने क्षेत्र नम्बर २ मा हुँदा पौडेललाई पटक पटक भोट हालेर जिताएपनि आज क्षेत्र फरक पर्दा गुणादीलाई हेला गरिएको आरोप लगाए । “प्रधानमन्त्री हुन्छु भनेर हिँड्ने मान्छेले त्यस्तो बोल्नहुन्थेन, यही गुणादीका घरमा पानी पुगेको छैन, तैपनि दमौली र गुणादीको सम्बन्ध बिगार्ने पक्षमा छैनौ,” उनले भने ।
“विगतमा गुणादीको पानी मिठो भएपनि अहिले मादीको पानी तानेपछि यहाँको पानी नमिठो भयो, त्यस्तो ठूलो मान्छेले त्यस्तो बोल्नहुन्थ्यो, विगतमा पाँच पाँच पटक भोट हालेर संसदमा पु¥याऔं,” उनले भने, “जबसम्म उहाँले माफी माग्नुहुन्न पानी छाड्ने वाला छैनौ ।”
स्थानीय विकासराज खनालले विगतमा खानेपानी संस्थासँग यस ठाउँको विकासका लागि भएको सहमति कार्यान्वयन नभएपनि आफूहरु चुप लागेरै बसेको बताउँदै पौडेलको अभिव्यक्तिले दुःख लागेको बताए ।
स्थानीय युवा अनिल अधिकारीले गुणादीको पानी खाएर दमौलीवासी बिरामी परेको भन्ने वक्तव्य खेदजनक रहेको बताए । “पौडेलले त्यस्तो वक्तव्य खेदजनक छ, यहाँको पानी खाएर दमौलीका मान्छे बिरामी परेको भए यहाँको पानी नलगेपनि हुन्छ,” उनले भने, “पानी लैजाने हो भने पौडेलले गुणादी वाराहीमा आएर सार्वजनिक रुपमा माफी माग्नुपर्छ ।” उनले पौडेलको अभिव्यक्तिले गुणादीवासीको मनमा ठेस लागेको भन्दै उक्त वक्तव्य नसच्चिएसम्म पानी नछाड्ने निर्णय गरिएको बताए ।
पानीको विवाद बढेपछि दमौली खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष वृषराज श्रेष्ठ, उपाध्यक्ष माधव अधिकारी, सचिव गौकुमारी न्यौपाने लगायत आइतबार गुणादी पुगेका थिए । त्यसक्रममा श्रेष्ठले गुणादीको पानी खाएर कोही पनि बिरामी नपरेको बताए । “जहाँसम्म पौडेल दाईले बोल्नुभएको कुराको सन्दर्भ छ, म उहाँलाई यसबारेमा जानकारी गराउँछु,” उनले भने ।