बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पाघाटस्थित मस्र्याङ्दी नदी किनारमा मापदण्ड विपरित उत्खनन् गरी राखिएको नदीजन्य सामग्री गाउँपालिकाले सिल गरेको छ ।
नदीबाट मापदण्ड विपरित उत्खनन् गरी राखिएको ढुङ्गा, गिटी, बालुवा गाउँपालिकाले आइतबार सिल गरेको हो । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा, वडा नम्बर ५ का वडाध्यक्ष ध्रुव लामिछाने, वडा नम्बर १ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठ सहितको टोलीले उक्त ठाउँको अनुगमन गरी मापदण्ड विपरित राखेको पाइएपछि सिल गरिएको हो ।
मस्र्याङ्दी नदी किनारमा आर्थिक वर्ष २०७८÷७९ का लागि गाउँपालिकाले तीन हजार एक सय घनमिटर उत्खनन्का लागि ठेक्का आह्वान गरेको थियो । तर मापदण्ड विपरित एक्साभेटर प्रयोग गरी १२ हजार एक सय घनमिटर ढुङ्गा, गिटी र बालुवा उत्खनन् गरेको पाइएको प्रवक्ता श्रेष्ठले बताए ।
गाउँपालिकाले केही दिन अगाडी मात्रै वडा नम्बर ६ स्थित साराङघाटमा रहेको क्रसर उद्योग पनि अनुगमन गरी सिल गरेको थियो ।