दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गुणादीको पानीको मुहानको विषयमा दिएको अभिव्यक्तिको मारमा दमौलीका उपभोक्ता परेका छन् । आइतबार बिहानबाट अधिकांश उपभोक्ताको धारामा पानी आउन छाडेको छ ।
दमौली खानेपानी तथा सरसफाई उपभोक्ता समिति मार्फत वितरण
गरिँदै आएको पानी अपुग भएको हुँदा आधा भन्दा बढि उपभोक्ताको धारामा पानी आएको छैन । गुणादीबाट बिहान र बेलुकी २/२ लाख लिटरको दरले दैनिक ४ लाख लिटर पानी ल्याईने गरेकोमा शनिबार साँझबाट उक्त पानी दमौलीको ट्यांकीमा झर्न छाडेको छ ।
दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष बृषराज श्रेष्ठले दमौलीमा खानेपानीको अभाव भएको बताए । दैनिक ४ लाख लिटर पानी नआउँदा ट्यांकी नभरिने र ट्यांकी नभरीकन वितरण गर्दा आधाभन्दा बढि घरको धारामा पानी नै नपुग्ने बताए ।
अध्यक्ष श्रेष्ठका अनुसार गुणादीबाट २०४० सालबाट पानी
ल्याउन थालिएको हो । त्यसयता प्राकृतिक कारण बाहेक अन्य कारणले एक दिन पनि पानीमा अवरोध भएको थिएन । गुणादीबासीले आफुले उपभोग नगरिकन उदारता देखाई दमौलीबासीलाई पानी पठाउँदै आएका थिए ।
गुणादीबासीले कांग्रेस नेता पौडेलले गुणादीमै आएर माफी माग्नु पर्ने
माग गरेको कारण पानीको आपूर्तिमा समस्या भएको उनको भनाई छ । ‘कुन नेताले के बोल्नु भयो, समितिलाई जानकारी हुने कुरा भएन र समितिले जिम्मा लिने कुरा पनि भएन’ अध्यक्ष श्रेष्ठले भने ‘पानी जस्तो कुरामा कसैले पनि राजनीति नगरे हुन्थ्यो ।’
धारामा पानी आउन छाडेपछि सोमबार व्यास नपा २ का उपभोक्ताले वडा कार्यालय घेराउ गरेका थिए । त्यसक्रममा उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठलाई समेत वडा कार्यालयमा बोलाई पानीको समस्याको बारेमा जानकारी लिईएको थियो ।
गुणादीबाट र मादी नदीबाट डिप बोरिङ मार्फत पानी ल्याई दमौलीका
उपभोक्तालाई वितरण गरिँदै आएकोमा गुणादीबाट पानी आउन छाडेको छ । मादी नदिको पानी तान्ने मोटर पनि केही साता अघि बिग्रेर त्यसै थन्किएको छ । विद्युत आपुर्ती हुँदा मात्र मादी नदीबाट पानी तान्न सकिने अध्यक्ष श्रेष्ठले बताए । ‘लाईन गयो भने मादीको पानी पनि तान्न सकिन्न, त्यसबेला झन समस्या पर्छ’ श्रेष्ठले भने ।
४० वर्ष अघिदेखि काकाकुल दमौलीको प्यास मेट्दै आएको गुणादी
बाराहीको मुलको पानीलाई गत शुक्रबार काँग्रेस वरिष्ठ नेता पौडेलले
रोगको मुहानको रुपमा चित्रित गरेपछि गुणादीबासी आक्रोसित बनेका छन् ।
दमौली स्थित नेपाली काँग्रेसको पार्टी कार्यालय प्राङ्गणमा आयोजित
कार्यक्रममा पौडेलले गुणादीको चुना परेको पानी खाँदा विगतमा दमौलीवासी बिरामी पर्ने र अहिले मादीको पानी खाएपछि सबै निरोगी भएको अभिव्यक्ति दिएका थिए ।
पौडेलको उक्त अभिव्यक्तिले गुणादीवासीको मनमा ठेस लागेको स्थानीयले बताएका छन् । स्थानीय रन्जित आलेले विगतमा जामुने
क्षेत्र नम्बर २ मा हुँदा पौडेललाई पटक पटक भोट हालेर जिताएपनि आज क्षेत्र फरक पर्दा गुणादीलाई हेला गरिएको आरोप लगाए । ‘प्रधानमन्त्री हुन्छु भनेर हिँड्ने मान्छेले त्यस्तो बोल्नहुन्थेन, यही गुणादीका घरमा पानी पुगेको छैन, तैपनि दमौली र गुणादीको सम्बन्ध बिगार्ने पक्षमा छैनौ,’ उनले भने ।
स्थानीय युवा अनिल अधिकारीले गुणादीको पानी खाएर दमौलीवासी बिरामी परेको भन्ने वक्तव्य खेदजनक रहेको बताए । ‘पौडेलले त्यस्तो वक्तव्य खेदजनक छ, यहाँको पानी खाएर दमौलीका मान्छे बिरामी परेको भए यहाँको पानी नलगेपनि हुन्छ,’ उनले भने, ‘पानी लैजाने हो भने पौडेलले गुणादी वाराहीमा आएर सार्वजनिक रुपमा माफी माग्नुपर्छ ।’