दमाैली । गुणादीको पानीको मुहानका विषयमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलकोे अभिव्यक्तिका कारण बन्द गरिएको पानीको मुहान मंगलबार साँझबाट सुचारु भएको छ ।
वरिष्ठ नेता पौडेलले मङ्गलबार नै विज्ञप्ती प्रकाशित गरी माफी मागेपछि दमौली ल्याइएको पानीको मुहान सुचारु भएको हो । पौडेलले गुणादीको पानी खाएर दमौलीवासी पहिला रोगी थिए, दमौली खानेपानी योजना सञ्चालन भएपछि सबै निरोगी भएका छन् भन्ने अभिव्यक्ति दिएपछि आक्रोशित स्थानीय युवाले शनिबारदेखि पानी बन्द गरिदिएका थिए ।
पौडेलले माफी नमागेसम्म पानी नखोल्ने अडानमा स्थानीय थिए । गुणादीबाट पानी आउन छाडेपछि दमौलीमा खानेपानी अभाव सुरु भएको थियो ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, व्यास–२ का वडाध्यक्ष काशीराम श्रेष्ठ, दमौली खानेपानी उपभोक्ता समितिका अध्यक्ष वृषराज श्रेष्ठ र स्थानीयवासीबीच मङ्गलबार साँझ वार्ता गरी पानी खोल्ने वातावरण बनाइएको थियो । त्यसक्रममा नगरप्रमुख न्यौपानेले यस ठाउँमा पूर्वाधार निर्माणका लागि नगरपालिकाको तर्फबाट तत्कालै पाँच लाख बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
गुणादी वाराहीको समग्र विकासका लागि गुरुयोजना बनाउने सहमति भएको छ । त्यसका लागि व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाले सहकार्य गर्ने सहमति भएको स्थानीय युवा अनिल अधिकारीले जानकारी दिए । “पानीको विषयमा वरिष्ठ नेता पौडेलबाट आएको अभिव्यक्तिमा उहाँले माफी मागेको र तीन दिनदेखि पानी बन्द गर्दा दमौलीवासीलाई पनि अप्ठ्यारो परेकाले पानी सुचारु गराएका छौ,” उनले भने ।