दमाैली । जिल्ला प्रहरी कार्यालय तनहुँले ट्राफिक प्रहरी कार्यालयका प्रमुख गोकर्ण नेपाललाई साउन महिनाको ‘उत्कृष्ट प्रहरी’ कर्मचारी घोषित गरेको छ । प्रहरी नायब निरीक्षक नेपाललाई प्रहरी कार्यालयले साउन महिनाको उत्कृष्ट प्रहरी कर्मचारी घोषित गरी पुरस्कृत गरेको छ ।
विभागीय मूल्य, मान्यता, आदेश निर्देशनाको पालना गरी व्यावसायिक, लगनशील, कर्तव्यनिष्ठ र अनुशासित तवरले कर्तव्य पालनामा तल्लिन रही विभिन्न समयमा भएका सवारी दुर्घटना पश्चात् घाइतेको उद्धार, अनुसन्धान तथा व्यवस्थापन एवं उपलब्ध जनशक्तिलाई परिचालन गरी सवारी दुर्घटनालाई व्यवस्थापन गरेबापत नेपाललाई उत्कृष्ट घोषित गरिएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।
सवारी साधनलाई कारवाही, राजश्व सङ्कलनमा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेखनीय वृद्धि, सवारी दुर्घटना न्यूनीकरणलाई लक्षित गरी विभिन्न सङ्घसंस्था तथा सरोकारवाला निकायहरुसँगको समन्वयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे बापत नेपाल उत्कृष्ट घोषित हुन सफल भएका हुन् ।
नेपाललाई प्रहरी उपरिक्षक राजेन्द्र रेग्मीले मङ्गलबार प्रशंसापत्र प्रदान गरेका छन् ।