दमाैली । व्यास नगरपालिका–२ स्थित बालमन्दिर माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत नरेश थापाले सोही विद्यालयमा अध्ययनरत दुई विद्यार्थीको सम्पूर्ण अध्ययन खर्च बेहोर्ने भएका छन् ।
कक्षा १२ मा अध्ययनरत थापाले कक्षा ८ मा अध्ययनरत देवी थापालाई कक्षा १० सम्म र कक्षा ११ मा अध्ययनरत मोनिका थापालाई कक्षा १२ सम्म अध्ययन गर्दा लाग्ने सम्पूर्ण शैक्षिक खर्च बेहोर्ने भएका हुन् ।
बाल दिवसको अवसरमा विद्यालय प्राङ्गणमा आयोजित एक कार्यक्रममा थापाले सो प्रतिबद्धता जनाएका हुन् । थापाले दुई विद्यार्थी देवी र मोनिका सहित विद्यालयका प्रधानाध्यापक राजेन्द्रप्रसाद खनाललाई तत्कालै एक वर्षका लागि आवश्यक रकम २२ हजारको चेक समेत हस्तान्तरण गरिसकेको विद्यालयकी सहायक प्रधानाध्यापक लक्ष्मी मल्लले बताइन् ।
सहायक प्रधानाध्यापक मल्लका अनुसार उनले पहिले चरणका लागि भन्दै उक्त रकम हस्तान्तरण गरेका हुन् । सानैदेखि कम्प्युटर शिक्षामा रुची राख्ने थापाले हाल अनलाइनको माध्यमबाट कम्प्युटर प्रोग्राम सम्बन्धी व्यवसाय गरी आम्दानी गर्दै आएको विद्यालयका प्रधानाध्यापक खनालले बताए ।
प्रधानाध्यापक खनालले थापाको कार्य प्रशंसनीय भएको बताए । उनले यस्ता कार्यले विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीमा हौसला बढ्ने बताए । थापाले आफू एक सामान्य परिवारमा हुर्किएको र सामान्य परिवारको दुःख आफुले भोगेको बताउदै देवी र मोनिकाले अध्ययन कार्यमा थप समस्या झेल्न नपरोस् भनेर आफ्नो कमाइको केही रकम सहयोग गरेको बताए ।