दमाैली । ५८औं राष्ट्रिय बालदिवसको अवसरमा बुधबार तनहुँमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय तनहुँको आयोजनामा आयोजित ‘बालमैत्री समाज निर्माणमा परिवार र सरकारको भूमिका’ विषयक प्रतियोगितामा सत्यवती माविकी दिपा विक प्रथम भएकी छन् ।
त्यस्तै पञ्चमुनि देव माध्यमिक विद्यालयका अनुप लामिछाने द्धितीय र शुक्ला माविका मनिता राना तृतीय भएको कार्यक्रम संयोजक शारदा गैह्रेले बताइन् ।
जिल्ला बाल सञ्जालको समन्वयमा सञ्चालित प्रतियोगितामा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बाल अधिकार सुनिश्चितताका लागि सबैको प्रतिवद्धताको खाँचो हुने बताए । उनले बालबालिकाको अधिकार प्रवद्र्धनमा अभिभावकका साथै सरकारको भूमिका महत्वपूर्ण हुने बताए । उनले पढ्ने अवसरबाट कुनै पनि बालबालिका बञ्चित हुन नहुनेमा जोड दिए ।
कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख विक्रम सुवेदी, बाल सञ्जालका अध्यक्ष बर्षा गुरुङ लगायतले बाल अधिकारका बारेमा आ–आफ्नो धारणा राखेका थिए । सो प्रतियोगिताको मुल्याङ्कन समितिमा आदिकवि भानुभक्त क्याम्पसका नारायणी अधिकारी, विष्णु हड्खले र कञ्चना काफ्ले रहेका थिए ।