तनहुँ १ मा जोशीको उम्मेद्वारी दर्ता, भन्छन्, ‘गठबन्धनको विरुद्ध उम्मेद्वारी दिएको हुँ’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँ १ मा जोशीको उम्मेद्वारी दर्ता, भन्छन्, ‘गठबन्धनको विरुद्ध उम्मेद्वारी दिएको हुँ’

    खबरपुञ्ज संवाददाता

    २३ आश्विन २०७९, आईतवार

    दमाैली । तनहुँ क्षेत्र नम्बर १ मा गोविन्दराज जोशीले उम्मेद्वारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा पुगेर उनले प्रतिनिधि सभामा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा रामदेव पन्त र कृष्णप्रसाद सोती समर्थक रहेका छन् ।

    १० साउन २०७६ मा नेपाली कांग्रेसको अनुशासन समितिले पार्टी सदस्य समेत नरहने गरी पाँच वर्षका लागि जोशीलाई कारबाही गरेको थियो । कांग्रेस वरिष्ठ नेता पौडेललाई तनहुँ क्षेत्र नम्बर १ मा पराजित गर्न भूमिका खेलेको आरोपमा जोशीलाई कारबाही गरिएको हो ।

    पुर्व गृह मन्त्री समेत रहेका जोशीले अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रमा उम्मेद्वारी दिएका थिए । तर, अयोग्य ठहर गर्दै निर्वाचन आयोगले उनको उम्मेद्वारी रद्ध गरेको थियो ।

    उनले गठबन्धनको विरुद्ध उम्मेद्वारी दिएको बताए । ‘नेपाली राजनीति अहिले विघटनको बाटोतिर गाको छ । यो गठबन्धनको राजनीति पुर्णतया अप्रजान्त्रिक र व्यक्तिको अधिकारलाई हनन गर्नेतर्फ अगाडी बढेको हुनाले यो गठबन्धनको राजनीतिलाई अन्त्य गरेर प्रत्येक नागरिकले आफुले इच्छाएको व्यक्तिलाई मतदान गर्न पाउने आफ्नो अधिकार अथवा पार्टीको उम्मेद्वारलाई मतदान गर्न पाउने प्रणालीलाई कायम गर्नुपर्छ । अहिलेको गठबन्धन केबल सिमित व्यक्तिहरुको स्वार्थ पुरा गर्नका लागि अगाडी बढेको हुनाले यसलाई समाप्त पार्नुपर्छ र प्रजातन्त्रलाई पुर्नस्थापित गर्नपर्छ भनेर उम्मेद्वारी दिएको हो’, उनले भने ।

    तनहुँमा आफु सत्तामा हुदाँ सुरु गरेका काम पुरा गर्नलाई पनि उम्मेद्वारी दिएको उनको भनाइ छ । उनी जनताले दिएको माया ममता आफुले निर्वाचन जित्ने आधार भएको बताए । ‘जहाँ गएपनि मलाई भोट हाल्दिन भन्ने मान्छे भेटिन्न’, उनले भने । सबै पार्टीको उम्मेद्वार आफु भएको दाबी समेत उनको छ ।

    तनहुँ १ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका एकबहादुर रानाले उम्मेद्वारी दिनेछन् । जोशीको उम्मेद्वारी रद्ध नभएको खण्डमा एमालेले पनि जोशीलाई समर्थन गर्न सक्ने चर्चा तनहुँको राजनीति वृत्तमा सुनिन्छ । गत स्थानीय तहको निर्वाचनमा जोशी समुहले तनहुँमा नेकपा एमालेसँग तालमेल गरेको थियो ।