सत्तारुढ दलको बैठकमा पौडेलले भने – गठबन्धन बलियो बनाउनुपर्छ, नेकपा एसले भन्यो ‘एक सिट चाहिन्छ’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    सत्तारुढ दलको बैठकमा पौडेलले भने – गठबन्धन बलियो बनाउनुपर्छ, नेकपा एसले भन्यो ‘एक सिट चाहिन्छ’

    खबरपुञ्ज संवाददाता

    २३ आश्विन २०७९, सोमबार

    दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनलाई बलियो बनाएर निर्वाचनमा जान आग्रह गरेका छन् । कांग्रेस तनहुँको कार्यालयमा सोमबार बसेको गठबन्धनका दलका नेताहरुको बैठकमा वरिष्ठ नेता पौडेलले गठबन्धन अहिलेको आवश्यकता भएकाले गठबन्धनलाई बलियो बनाउनुको विकल्प नभएको बताए ।

    तनहुँका चार प्रदेशसभा क्षेत्रमा गठबन्धनको घटक नेकपा (एकीकृत समाजवादी) का तर्फबाट उम्मेदवारी दर्ता भएका विषयमा पौडेलले उम्मेदवारी फिर्ता लिएर सहयोग गर्न आग्रह गरे । “गठबन्धन जिल्लाबाट नभई केन्द्रबाटै भएको हो, यस विषयमा विचार गरेर उम्मेदवारी फिर्ता लिनुस्”, पौडेलले भने ।

    वरिष्ठ नेता पौडेलले तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। प्रदेश(क) अन्तर्गत सत्तारुढ गठबन्धनतर्फ नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ र नेकपा (माओवादी केन्द्र)बाट हरिबहादुर चुमानले उम्मेदवारी दर्ता गराएका छन् ।

    बैठकमा नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य पिएल श्रेष्ठले गठबन्धनको भावना अनुसार एक सिटमा आफूहरुको दावी रहेको बताएका थिए।

    सोक्रममा पौडेलले एकपटक आफूलाई सहयोग गर्न आग्रह गर्दै नेकपा एसलाई राजनीतिक रुपमा अन्यत्र व्यवस्था गर्ने बताएको कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । ‘अधिनायकवादको विरुद्धमा एकजुट भएर चुनावमा जानुपर्छ,’ पौडेलको भनाई उद्धधृत गर्दै खनालले भने।