दमौली । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दमौलीमा महिला बास्केटबल प्रतियोगिता सुरु भएको छ । व्यास-१ स्थित निर्मल माविको प्राङ्गणमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले उदघाटन गरे । सो अवसरमा बोल्दै वाग्लेले नवौ राष्ट्रिय खेलकुद तनहुँमा गर्न पाउनु गौरवको विषय भएको बताए । वाग्लेले जिल्लामा खेलका पूर्वधार बनाउनेतर्फ स्थानीय सरकारको ध्यानाकर्षण गराए ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जिल्लामा पूर्वाधार निर्माणका लागि स्थानीय सरकारबीच साझेदारी गर्ने बताए ।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृ्ष्णराज पण्डितले नवौ खेलकुद प्रतियोगिता सम्पन्न गराउन पालिकाको सहयोग रहने बताए ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेको अध्यक्षतामा आयोजित कार्यक्रमको अवसरमा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
उदघाटन खेल मधेश प्रदेश र नेपाल आर्मीबीच हुँदैछ ।