दमौली । फाउण्ट एड नामक संस्थाले तनहुँको दमौलीस्थित विद्यालयहरुमा डिजिटल साक्षरता कार्यक्रम गरेको छ । संस्थाका कार्यकारी प्रमुख संस्कृति श्रेष्ठको विशेष पहल र संस्थाका सदस्यहरु रोमन श्रेष्ठ, हिमाल श्रेष्ठ र विवेक पन्थीको सक्रियतामा विद्यालयमा डिजिटल साक्षरता कार्यक्रम गरिएको छ ।
डिजिटल साक्षरतामा विद्यार्थीको पहुँच पुर्याउने उद्धेश्य सहित कार्यक्रम गरिएको कार्यकारी प्रमुख श्रेष्ठले बताइन् । ‘३२ जिल्लाका स्नातक अध्ययनरत विद्यार्थी संस्थाको सदस्य भई निस्वार्थ भावनाले कार्यक्रम गरेका हौ,’ उनले भनिन् ।
विद्यार्थीलाई आधारभूत कम्प्युटर सीप सिकाई, विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित शिक्षा प्रदान गर्न उक्त संस्था २०७९ जेठ महिनामा स्थापना गरिएको हो ।
संस्थाले खैरेनीस्थित सूर्योदय मावि, दमौली आदर्श विद्यागृह, वाराही मावि, दमौली मेमोरियल एकेडेमीमा कार्यक्रम सम्पन्न भइसकेको छ । सूर्योदय माविका प्रमुख विना आलेले कार्यक्रम प्रभावकारी रहेको बताइन् ।
संस्थाले हालसम्म ८ हजार विद्यार्थीलाई डिजिटल साक्षरता प्रदान गरिएको अध्यक्ष महेश पण्डितले बताए ।
कार्यक्रममा प्रबन्धक जिनी श्रेष्ठ, सदस्य अस्मिता चापागाई, रोमन श्रेष्ठ, हिमाल श्रेष्ठ, आयुष श्रेष्ठको सहभागिता थियो ।