दुलेगाैडा । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं तनहुँ-२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किरण गुरुङले तनहुँमा एमालेकाे जित निश्चित रहेकाे बताएका छन् । दुलेगाैडामा बुधबार आयाेजित कार्यक्रममा बाेल्दै गुरुङले लामाे समयसम्म एमालेमा लगानी गरेका नेता कार्यकर्ता घर फिर्ता भएसँगै तनहुँमा एमालेकाे जितलाई कसैले राेक्न नसक्ने बताए ।
‘लामो समय एमालेमा लगानी गरेका साथीहरु मुल पार्टीमै फर्कनुभएको छ,’ उनले भने, ‘हामीलाई आज उर्जा थपिएको छ । तनहुँका ६ वटै निर्वाचन क्षेत्रमा जित निश्चित भएको छ ।’ उनले जितिन्छ भन्दैमा ढुक्क तरिकाले नबस्न नेताहरुलाई निर्देशन दिए ।
नेता गुरुङले नेपाली काङ्ग्रेस व्यक्तिवादी पार्टी भएको बताए । ‘मतदातालाई उसले फोन गर्छ उनले भने, ‘तर नेकपा एमाले संस्थागत ढंगले चलेको पार्टी भएकाले कार्यकर्ताले आफै नै उम्मेदवार सम्झेर प्रचार प्रसार गर्नेछ ।’
तनहुँ २ प्रदेश १ का उम्मेदवार श्यामराजा महतले कहिकतै छुटेका साथीहरुलाई पनि पार्टीमा ल्याउन पहल गर्नुपर्नेमा जोड दिए ।
जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राजेश्वर ढकाल, उपसचिव खिम बहादुर कुमाल, नगर कमिटी अध्यक्ष मुक्तिनाथ तिम्सेना लगायतले नेपालको कम्युनिष्ट आन्दोलनको मुल धार नेकपा एमाले भएको बताउँदै आगामी निर्वाचनमा बहुमत ल्याउने गरि लाग्न आग्रह गरे ।