देवघाट गण्डकी परिक्रमा हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देवघाट गण्डकी परिक्रमा हुँदै

    खबरपुञ्ज संवाददाता

    २१ कार्तिक २०७९, सोमबार

    दमौली । तनहुँको प्रसिद्ध देवघाटधामको धार्मिक एवं भौतिक विकासलाई सम्बद्र्धन गर्दै वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले देवघाट गण्डकी परिक्रमा महोत्सव गरिने भएको छ ।

    देवघाटमा साधनारत सन्तहरुको अगुवाईमा कात्तिक २१ गते देवघाटधाम गण्डकी परिक्रमा महोत्सव आयोजना गर्न लागिएको हो । संसारकै दुर्लभ धार्मिक तीर्थ देवघाटको धार्मिक महत्वको सम्बद्र्धन गर्ने उद्देश्यले यस क्षेत्रमा साधनारत सन्त महात्माहरुको अगुवाईमा देवघाटधाम गण्डकी परिक्रमा गर्न लागिएको नेपाल सनत समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले जानकारी दिए ।

    कार्यक्रमका लागि देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिले समन्वय गरेका छन् । विसं २०३८ सालमा सुरुवात भएको देवघाटधाम गण्डकी परिक्रमालाई निरन्तरता प्रदान गरी जीवन धन्य बनाउने उद्देश्य सहित परिक्रमा गर्न लागिएको जनाइएको छ । गत वर्ष पनि देवघाटमा परिक्रमा महोत्सव गरिएको थियो ।

    तनहँुतर्फ देवघाटको वेणीसङ्गम, गलेश्वर आश्रम (सिद्धेश्वर महादेवको मन्दिर), चक्रवर्ती आश्रम (मणिमुकुन्देश्वर मन्दिर), महेश सन्यास आश्रम (विद्येश्वर महादेव मन्दिर), हरिहर सन्यास आश्रम (हरिहर मन्दिर), देवघाट पुलको मुख (गणेश मन्दिर, केदारेश्वर मन्दिर, बद्रिनाथ मन्दिर), देवपुर (सांढेबगर बौद्धगुम्बा) भुबराह मन्दिर (मणिमुकुन्देश्वर चक्रवर्ती आश्रम) को परिक्रमा गरिनेछ ।

    त्यस्तै चितवन तर्फ देवघाट बस पार्क (सङ्कल्पेश्वर महादेव मन्दिर, योगी नरहरिनाथ आश्रम गौशाला (बागेश्वरी मन्दिर), आपँटारी (दियालो बङ्गला चोक), पोखरा बसपार्क (गौरेश्वर शिव मन्दिर), नारायणगढ (हरिहर मन्दिर), नारायणगढ पुलचोक (दुर्गा मन्दिर) को परिक्रमा गरिनेछ ।

    नवलपुर तर्फ गैंडाकोट पुल्चोक (गोपेश्वर महादेव मन्दिर), मौलाकाली भगवती मन्दिर, दिव्यधाम मन्दिर, बेसक्याम्प, केलादी क्षेत्रको परिक्रमा गरिनेछ ।

    देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष शिवराज पौडेलले देवघाट क्षेत्रको धार्मिक पर्यटन प्रबद्र्धनका लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

    पवित्र देवघाटधाम र गण्डकी सङ्गममा स्नान, जप, तप, न्यास, ध्यानादी कार्य मोक्ष प्राप्त हुने र मृत्यु पश्चात् यसै क्षेत्रमा अन्तिम संस्कार भएमा मुक्ति प्राप्त हुने हिन्दु धर्मको पौराणिक मान्यता भएको र विभिन्न धार्मिक ग्रन्थहरुमा देवघाटधामको महिमा उल्लेख भएको पाइन्छ ।