दमौली । लालीगुरॉस सेवा समाज बहराइनले व्यास-१३ बेलबासस्थित सिद्धवेनी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
समाजमा आबद्ध १३ जना नेपालीहरुले व्यास- १३ का वडा अध्यक्ष बसन्त आले मार्फत विद्यालयका प्रअ सुकबहादुर रानालाइ उक्त सहयोग हस्तान्तरण गरेका हुन् । नेपालमा घर भइ वैदेशिक रोजगारीको सिलसिलामा बहराइन गएर बसेका नेपालीहरूले सामाजिक उत्तरदायित्व बहन गर्ने शिलशिलामा उक्त सहयोग हस्तान्तरण गरेको कार्यक्रमको व्यवस्थापन गर्ने व्यास- १३ का अगुवा मेघनाथ आचार्यले बताए ।
यस अगाडि पनि विभिन्न ठाउँमा सहयोग गरेको भन्दै आचार्यले यो सहयोग त्यसैको निरन्तरता भएको बताए ।
सहयोग कार्यक्रममा नवलपरासीका कृष्णप्रसाद तिमिल्सिनाले सेवा समाजको स्थापना र यसले समाजमा गरेको गतिविधिका बारेमा जानकारी गराएका थिए । सो अवसरमा वडाध्यक्ष बसन्त आलेले विद्यार्थी भोलिको देशको गहना भएको बताए । पहिले खरको छानाबाट सुरु भएको विद्यालयमा अहिले पक्की पूर्वाधाप निर्माण भएको भन्दै आवेले शैक्षिक गुणस्तर कायम हुनुपर्ने बताए । ,
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र आलेको अध्यक्षतामा भएको सहयोग कार्यक्रममा विद्यालयका प्रअ सुकबहादुर राना, पूर्व अध्यक्ष कृष्णभक्त तिवारी, शिक्षिका शारदा बास्तोला लगायतले सहयोगी हात प्रति धन्यवाद ज्ञापन गरेका थिए ।