दमाैली । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रचारप्रसारका लागि चार दिनमात्र बाँकी छ । उम्मेदवार यतिबेला मतदाता रिझाउन घरदैलोमा व्यस्त छन् ।
तनहुँका चार प्रदेशसभा क्षेत्रमध्ये सबैभन्दा बढी रोचक रहेको तनहुँ १ प्रदेश २ हो । यहाँ नेकपा (एमाले) का तर्फबाट पूर्णबहादुर गुरुङ र सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमानबीच प्रतिस्पर्धा हुँदैछ । काङ्ग्रेस महाधिवेशन प्रतिनिधि रहेका गुरुङ केही समय अगाडी मात्रै एमाले प्रवेश गरेका थिए ।
२०७४ को निर्वाचनमा एमाले र माओवादी गठबन्धनबाट प्रदेशसभामा विजयी भई प्रदेश सरकारको आन्तरिक मामिलामन्त्री भइसकेका चुमान दोस्रो जितका लागि प्रतिस्पर्धा गर्दैछन् । सोही प्रदेश क्षेत्रमा आफ्नो आधार क्षेत्र बनाएर काम गर्दै आएका गुरुङ एमालेबाट उम्मेदवार बनेपछि दुई जनाबीचको प्रतिस्पर्धा कडा हुने विश्लेषण गरिएको छ ।
चुमानलाई चुनाव जित्नका लागि नेपाली काङ्ग्रेसको मत आवश्यक पर्दछ । यो प्रदेशमा नेकपा माओवादीका वडाध्यक्षले पाएको मत तेस्रोमा पर्दछ । नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रको मत जोड्दा भने चुमानलाई सहज छ । तर सबै काङ्ग्रेसको मत उनलाई आउँछ की आउँदैन भन्ने एकिन छैन ।
यता एमाले उम्मेदवार गुरुङले पनि एमालेकाे मतसँगै सत्तारुढ गठबन्धनको मत आफूतिर तान्न प्रयास गर्नुपर्ने हुन्छ । विगतमा देवघाट, आँबुखैरेनी कार्यक्षेत्र भएकाले त्यहाँका काङ्ग्रेसको मत चुमानलाई नभई आफूलाई प्राप्त हुनेमा गुरुङ विश्वस्त छन् ।
यस्तो छ अङ्कगणित
यो प्रदेशसभा क्षेत्रमा आँबुखैरेनी, देवघाट, बन्दीपुर र व्यास १, १२, १३ र १४ पर्दछ । गत स्थानीय तह निर्वाचनमा यो क्षेत्रका वडाहरुमा नेकपा एमालेले १० हजार ३९०, नेपाली काङ्ग्रेसले १३ हजार ९१८ र नेकपा माओवादी केन्द्रले ७०६६ मत प्राप्त गरेको छ ।
त्यसमध्ये व्यास १ र आँबुखैरेनी २ मा एमालेका उम्मेदवार थिएनन् । आँबुखैरेनी १ का वडाध्यक्षका उम्मेदवार नेपाली काङ्ग्रेसका किसान थापा एमाले प्रवेश गरेसँगै आँबुखैरेनीमा एमालेको मत बढ्ने स्थानीय एक नेताले बताए ।