भानुलाई नमूना शहर बनाउँछौ : वरिष्ठ नेता पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    भानुलाई नमूना शहर बनाउँछौ : वरिष्ठ नेता पौडेल

    खबरपुञ्ज संवाददाता

    २९ कार्तिक २०७९, बुधबार

    दमौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले भानुलाई नमूना शहरको रुपमा विकास गरिने बताएका छन् । तनहुँको भानु नगरपालिका–२ ठूलोबगैंचामा बुधबार आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार पौडेलले भानु नगरपालिको भविष्य राम्रो रहेकाले यसलाई नमूना शहरको रुपमा विकास गरिने उल्लेख गरे ।

    भानु भन्सार शहरी योजनालाई पूर्णता दिन आफूले गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउँदै पौडेलले भने, “भानु नगरपालिकाको भविष्य राम्रो छ, यसलाई नमूना शहरको रुपमा विकास गर्ने जनताको चाहना हामी पूरा गर्छौ ।”

    भानु नगरपालिकामा रहेका लालपूर्जाको समस्या समाधान हुने बताउँदै पौडेलले सुकुम्बासी भूमिहिनलाई लालपूर्जा उपलब्ध गराइने बताए । खानेपानीको समस्या समाधान, सडक कालोपत्र लगायतका समस्याबारे आफू जानकार रहेको भन्दै उनले भने, “जनताको सबै समस्याका बारेमा हामी जानकार छौ । स्थानीय स्तरबाट हुने समस्या समाधान यहीँबाट हुन्छ । केन्द्रबाट समाधान गर्नुपर्ने कुरा केन्द्रबाटै मिलाउँछौ ।”

    केन्द्रमा पहुँच राख्न सक्ने व्यक्तिलाई जनताले जिताउनुपर्ने भन्दै पौडेलले ठिक ठाउँमा ठिक व्यक्तिको मूल्याङ्कन गर्न सक्नुपर्ने बताए । “केन्द्रमा कसले पहुँच राख्न सक्छ, कसले विकास गर्न सक्छ त्यसबारेमा जनताले मूल्याङ्कन गर्नुपर्छ, तबमात्र जिल्लाको विकास सम्भव छ,” उनले भने ।

    वरिष्ठ नेता पौडेलले आज भानु नगरपालिका–२ भकुन्थोक, भानु नगरपालिका–४ चुँदीरम्घा, बोहोरागाउँ, कुमालगाउँ लगायतका ठाउँमा घरदैलो गरेका थिए ।