दमौली । नेकपा माओवादी केन्द्रका नेता हरिबहादुर चुमान गण्डकी प्रदेशसभामा दोस्रो पटक विजयी भएका छन्। २०७४ को निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट पहिलो पटक विजयी भएका चुमान २०७९ को निर्वाचनमा नेपाली कांग्रेससँगको गठबन्धनबाट दोस्रो पटक विजयी भएका हुन्।
बुधबार सम्पन्न मतगणना अनुसार चुमानले १३ हजार दुई सय ७९ मत प्राप्त गरे । उनी गण्डकी प्रदेशका मुख्यमन्त्रीका दावेदार हुन् । यसअघि उनी चुमान आन्तरिक मामिलामन्त्री भइसकेका छन् ।
विसं २०१९ फागुन ३ गते जन्मिएका चुमान दोस्रो कार्यकालका लागि प्रदेशसभामा निर्वाचित भएका हुन् ।
विसं २०३६ सालमा नेकपा चौमको सदस्यता ग्रहण गरी राजनीतिक यात्रा सुरु गरेका चुमान २०४६ सालको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका चुमान २०४७ मा नेकपा एकता केन्द्रको तर्फबाट इलाका सेक्रेटरी बनेका थिए ।
विसं २०४९ देखि जनयुद्धको तयारीका लागि पूर्णकालिन रहेका उनी २०५२ सालदेखि जनयुद्धमा भूमिगत र व्युरो सदस्य सेक्रेटरीको भूमिकामा थिए । विसं २०५८ सालदेखि जनसरकार प्रमुखको भूमिकामा रहेका उनले २०६२÷६३ को जनआन्दोलनमा लमजुङ र मनाङको इन्चार्जको कार्यभार पूरा गरेका थिए ।