आँबुखैरेनीमा घरको नक्सा निःशुल्क
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा घरको नक्सा निःशुल्क

    खबरपुञ्ज संवाददाता

    १९ पुष २०७९, मंगलवार

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले घर तथा भवनको प्रस्तावित नक्सा निःशुल्क बनाउने कामको सुरुवात गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष ०७९÷८० नीति तथा कार्यक्रम अनुसार घर तथा भवनको प्रस्तावित नक्सा निशुल्क गर्ने घोषणा गरेबमोजिम मङ्गलबारदेखि निःशुल्क नक्सा वितरण सुरु गरेको हो ।

    आँबुखैरेनी गाउँपालिका–३ निवासी मनमाया थापा र अनिता थापाले पहिलो पटक उक्त सेवा लिएका छन् । उनीहरुले घर निर्माणका लागि नक्सा बनाउन गाउँपालिकामा निवेदन दिएकामा गाउँपालिकाले नक्सा निर्माण गरी हस्तान्तरण गरेको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्यालले उक्त नक्सा सेवाग्राहीलाई हस्तान्तरण गरेका हुन् ।

    नक्सा पास तथा भवनको मापदण्डमा रही नयाँ बन्ने घर तथा भवनको नक्सा गाउँपालिकाले नै निःशुल्क रुपमा बनाइदिने गाउँपालिकाका अध्यक्ष चुमानले बताए। चुमानका अनुसार तीन तल्लासम्मको लागि गाउँपालिकाले नै नक्सा बनाइदिनेछ । नक्सा पासका लागि लाग्ने आवश्यक राजस्व भने तिर्नुपर्नेछ ।

    भवन ऐन २०५५ को दफा ८ (ग) अनुसारको (ग वर्गका भवनहरु) भुइँ तलाको क्षेत्रफल १००० वर्गफिटसम्म र उचाई ३ तलासम्म वा स्ट्रक्चलरल स्पान ४.५ मिटरभन्दा कम भएका भवनको हकमा लागु हुने गाउँपालिकाले जनाएको छ । नक्सा पास नगरी बनाइएका घर तथा भवनहरुमा यो सेवा सुविधा लागु नहुने जनाइएको छ ।

    “घर बनाउनका लागि नक्साका लागि सर्वसाधारणले अब बाहिर कन्सल्टेन्सी धाउनुपर्दैन, गाउँपालिकामा आएर सम्पर्क गरेपछि गाउँपालिकाले आवश्यक सबै काम गरिदिन्छ,” चुमानले भने, “कन्स्लटेन्सीमार्फत् नक्सा बनाउँदा कम्तिमा २५÷३० हजार लाग्छ । निःशुल्क हुने भएपछि सर्वसाधारणको उक्त पैसा जोगिन्छ ।”

    गाउँपालिकाले ल्याएको यो सुविधाले स्थानीयवासी खुसी भएका छन् । नक्सा बनाउन कन्सल्टेन्सी धाउनुपर्ने बाध्यताबाट सर्वसाधारणले मुक्ति पाउने भएका छन् ।