अवसर आफ्नै पोल्टामा परेपछि फड्को मार्दै मुख्यमन्त्री
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    अवसर आफ्नै पोल्टामा परेपछि फड्को मार्दै मुख्यमन्त्री

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    पोखरा । चुनावमा नाम सिफारिस हुनुअघि र प्रदेशको टिकट पाइसकेपछि एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले भन्थे, ‘म केन्द्रकै स्वास्थ्यमन्त्री र गृहमन्त्री भइसकेको मान्छे, मेरो रोजाइ पनि संघमै हो ।’ प्रदेशमा दोहोरिन चाहेका पृथ्वीसुब्बा गुरुङले संघको टिकट पाउँदा एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलका प्रिय पात्र बनेका खगराजले कास्की १ (क) कै टिकट पाए र जिते पनि ।

    अघिल्लो चुनावमा आफैंले भोट माग्दै हिँडेका नेकपा हुँदाका सहयोद्धा नेकपा माओवादी केन्द्रका दीपक कोइरालालाई झण्डै ४ हजार मतान्तर हराउँदै मुख्यमन्त्री बन्ने ढोका खोले । यसअघि भनिएजस्तै पृथ्वीसुब्बासँग उनको प्रतिष्ठाको लडाईं कायमै रहेको भए र पृथ्वीसुब्बाले चाहेको भए खगराज एमाले संसदीय दलको नेता नहुन पनि सक्थे । किनकी उनी दलभित्र अल्पमतमा थिए । तर, सर्वसम्मत दलको नेता हुँदै अन्नत खगराज गण्डकी प्रदेशको तेस्रो मुख्यमन्त्री नियुक्त भएका छन् ।
    मुखले केन्द्र नै रोजाइ हो भन्दै आएका खगराज एमाले, माओवादी, राप्रपा, एकीकृत समाजवादी सहित प्रदेश सभाका ३३ सांसदको समर्थनमा गण्डकीको मुख्यमन्त्रीको कुर्सिमा विराजमान भएका छन् ।

    एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र निर्वाचित भई नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजिव गुरुङ (दिपक मनाङे) सहित ३३ सांसदको समर्थनमा खगराज मुख्यमन्त्री बन्दा संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस २७ सिटसहित प्रतिपक्षमा पुगेको छ । आफूलाई मुख्यमन्त्री बनाउँछु भनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै एमालेसहितको समर्थनले प्रधानमन्त्री बन्दा सुरेन्द्र पाण्डे भने हिस्स परे ।

    कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धन कायमै रहेको भए एमालेका खगराज मुख्यमन्त्री बन्ने सम्भावना थिएन । तर, एमाले अध्यक्ष, महासचिव र परिस्थिति पनि आफ्नो दाहिना हुँदा मुख्यमन्त्री हुँदै खगराजले इतिहास रचेका छन् ।

    को हुन् त खगराज ?

    पोखरा महानगरपालिका–३१ बेगनासमा २०१८ साल चैत १३ गते जन्मिएका खगराज स्कुले जीवनमै आफ्ना गुरुहरुबाट वामपन्थि विचारमा ढल्किएका थिए । आनन्दज्योति माध्यमिक विद्यालयमा पढ्दाखेरी नै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को सभापति बनेका खगराज निरन्तर वामपन्थी आन्दोलनमा सक्रिय रहे ।

    खगराजले २०३३ सालमा नेकपा एमालेको पुष्पलाल समूहको एरिया कमिटी सदस्य भएर सांगठनिक जिम्मेवारी निभए । २०३६ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) को कास्की जिल्ला अध्यक्ष भएका अधिकारी दुई कार्यकाल पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियू सभापति भए । स्ववियू सभापति बनेपछि उनले पटकपटक जेल जीवन बिताउनुप¥यो ।

    गण्डकी प्रदेशको मुख्यमन्त्रीमा विराजमान खगराजसँग हार जीत दुवैको अनुभव छ । छैठौं पटकसम्म निर्वाचन लडेका उनले ३ पटक त पराजय भोग्नुप¥यो ।

    बहुदल आएपछि २०४८ को निर्वाचनमा खगराज कास्की १ बाट निर्वाचन लडे । कांग्रेसका ताराराज रानासँग चुनाव लडेका उनको संसदीय निर्वाचनको पहिलो गाँसमा ढुंगा लाग्यो ।

    दोस्रो पटक उनी संसदीय यात्रामा सफल भए । २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा कास्की–१ बाट ताराराजसँग पराजयको बदला लिएका खगराज निर्वाचित हुँदै संसदीय यात्रा सुरु भयो । २०५४ सालमा उनी एमालेको सचेतक बने ।

    त्यसपछि २०५६ को निर्वाचनमा खगराजको तेस्रो भेट ताराराजसँग भयो । ताराराजसँग पराजित भएका उनले दोस्रो हार चाखे । २०६४ सालमा माओवादीका देव गुरुङसँग खगराजको जोर चलेन ।
    लगातर दुई पटक निर्वाचन हारेका खगराजको पार्टीमा भने प्रभाव बढ्दै थियो । २०६५ सालमा नेकपा एमालेको आठौं राष्ट्रिय महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बने ।

    २०७० को निर्वाचनमा खगराजलाई टिकट हात लागेन । तर, चुनाव नजितेरै उनलाई पहिलो पटक मन्त्री बन्ने अवसर भने जु¥यो । २०७० चैत १३ देखि २०७२ असोज २५ गतेसम्म खगराजले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी पाए । स्वर्गीय सुशील कोइराला प्रधानमन्त्री हुँदा खगराज स्वास्थ्य मन्त्री बनेका हुन् ।

    २०७३ मा नेकपा एमालेले केन्द्रीय सल्लाहकार कमिटीको उपाध्यक्षको जिम्मेवारी उनलाई दियो । संघीयता लागु भएपछि २०७४ को निर्वाचनमा कांग्रेसका यज्ञबहादुर थापालाई पराजित गर्दै खगराज दोस्रो पटक संसद प्रवेश गरे । उनी नेकपा एमालेका प्रमुख सचेतकसमेत भए । पछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक भएर नेकपा बनेपछि देव गुरुङलाई प्रमुख सचेतक बनाइयो ।
    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा विभाजन भयो । तत्कालिन प्रधानमन्त्री ओलीले विश्वासपात्र खगराजलाई २०७८ जेठ २७ गते गृहमन्त्रीमा नियुक्त गरे ।

    १३ दिने गृहमन्त्री बनेका अधिकारी २०७८ मंसिरमा भएको एमालेको चितवन महाधिवेशनबाट फेरि पनि केन्द्रिय सदस्य निर्वाचित भए । पार्टीमा गण्डकी इञ्चार्ज, संगठन विभागको सदस्य, पोलिटब्यूरो सदस्यको जिम्मेवारी सम्हालेको उनी नवौं महाधिवेशनपछि स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखको जिम्मेवारीमा छन् ।

    गएको निर्वाचनमा मुख्यमन्त्री बन्नलाई खगराज संघबाट प्रदेश ओर्लिएका हुन् । पृथ्वीसुब्बा गुरुङ गण्डकीको मुख्यमन्त्रीमा फेरि दोहोरिने इच्छा व्यक्त गरेपनि खगराज प्रदेश ओर्लिएपछि उनी नचाहेरै संघमा लड्नुपरेको थियो ।

    अघिल्लो निर्वाचनमा जसलाई भोट माग्दै हिँडेको थिए खगराजको चुनावी भिडन्त उनैसँग भयो । कास्की १ (क) मा एमालेबाट खगराज र पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रका दिपक कोइराला प्रतिस्पर्धामा थिए ।

    खगराजले दिपकलाई ३ हजार ९९६ मतले पराजित गर्दै निर्वाचित भए । चुनाव अघिको गठबन्धनले निरन्तरता पाएको भए परिदृश्य अर्कै हुने थियो । खगराज प्रतिपक्ष दलको नेतामा सिमित रहन्थे । एकाएक सत्ता समिकरण बदलिएपछि खगराज गण्डकी प्रदेशको तेस्रो मुख्यमन्त्री नियुक्त भएका छन् ।

    एमालेजनहरु नै भन्छन, ‘खगराज अधिकारी हुकुमी छन् । पार्टी होस् या सरकारी पदमा हुँदा कार्यकर्ता र कर्मचारी मुठ्ठीमा लिन खोज्छन् । आफूले भनेको नहुँदा र फरक विचार राख्नेलाई माथि उठ्नै दिँदैनन् ।’

    चुनावयता एकाएक स्वभाव र शैलीमा परिवर्तन ल्याएर जनतासामु नरम देखिएका खगराजको असली परिक्षा अब सुरु भएको छ । संघीयतामाथि नै प्रश्न उठिरहेको र चौतर्फी प्रहार भइरहेको बेला रोजाइ केन्द्र नै हो भन्ने गरेका खगराजले प्रदेश सरकारको औचित्य कसरी पुष्टि गर्छन् ? जनताको नजर उनैतिर छ ।