खुल्न चाहँदैनन् कुष्ठरोगी, तनहुँमा सात कुष्ठरोगी पहिचान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    खुल्न चाहँदैनन् कुष्ठरोगी, तनहुँमा सात कुष्ठरोगी पहिचान

    खबरपुञ्ज संवाददाता

    १६ माघ २०७९, सोमबार

    दमौली । नियमित औषधि सेवन गरे पूर्णरूपमा निको हुने भए पनि कुष्ठरोगी अझै पनि खुलेर बाहिर आउन सकेका छैनन् । समाजमा अपहेलित होइने डरले यस्ता रोगी निर्धक्कसँग बाहिर आउन नसकेका हुन् ।

    परम्परागत मान्यता, भेदभावलगायत कारणले कुष्ठरोगीलाइ घृणा गरिने भएकाले उनीहरुलाई समाजमा खुलेर बस्ने वातावरण सिर्जना गर्नु अहिलेको मुख्य चुनौती रहेको तनहुँ स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारी बताउँछन् । उनी भन्छन्, “कुष्ठरोगीलाई समाजले हेर्ने दृष्टिकोण राम्रो छैन, जान्ने बुझ्ने मान्छेहरुबाटै कुष्ठरोगी अपहेलित भइरहेका छन् । यसप्रति सकारात्मक भाव फैलाउन आवश्यक छ ।”

    कुष्ठरोगका बिरामीले आफ्नै घर नजिकैको स्वास्थ्य संस्थामा पुगेर औषधि नखाइ अन्यत्रै स्वास्थ्य संस्थाबाट औषधि सेवन गर्ने गरेको प्रमुख अधिकारीको भनाइ छ । “नजिकैको अस्पतालमा गएर औषधि सेवन गर्दा अरुले चिन्लान् भन्ने भय कुष्ठरोगीमा व्याप्त छ,” उनी भन्छन्, “त्यस्तो भय हटाउन स्वास्थ्य कार्यालयले पनि कुष्ठरोगका बिरामीलाई सचेतना दिने गरेको छ ।”

    छ महिना वा एक वर्षसम्म नियमित औषधि खाएपछि निको हुने भएकोले कुष्ठरोगलाई ठूलो रोगको रूपमा लिन नपर्नेमा जोड दिँदै उहाँ खुलेर आउन नसक्ने त्यस्ता बिरामीलाई अस्पतालसम्म ल्याइपु¥याउने वातावरण सिर्जना गर्नुपर्ने र कुष्ठरोगप्रतिको भ्रम हटाउन परिवार तथा समुदायमा पनि सही जानकारी दिन प्रचारप्रसार अभियान सञ्चालन गरिएको बताउँछन् । यहाँस्थित स्वास्थ्य संस्थामा उपचाररत कुष्ठरोगीको तथ्याङ्क मात्रै कार्यालयमा आउने तर अन्यत्र उपचार गर्नेको तथ्याङ्क सङ्कलन गर्न सकिएको छैन ।

    कतिपय त उपचार गर्नै नआउने पनि छन्, त्यस्ता व्यक्तिलाई कसरी अस्पतालसम्म लैजान सकिन्छ भन्ने मुख्य चुनौती भएको प्रमुख अधिकारी बताउँछन् ।

    सात कुष्ठरोगी पहिचान

    चालु आर्थिक वर्षमा जिल्लामा सात नयाँ कुष्ठरोगी पहिचान भएका छन् । व्यास नगरपालिकामा तीन, आँबुखैरेनी गाउँपालिकामा दुई, देवघाट गाउँपालिकामा एक र बन्दीपुर गाउँपालिकामा एक कुष्ठरोगी पहिचान भएका र उनीहरु सबैले नियमित औषधि सेवन गरिरहेका छन् ।

    गत आर्थिक वर्षमा जिल्लामा १८ कुष्ठरोगी रहेकामा सबै निको भइसकेका छन् । जिल्लामा कुष्ठरोगको औषधि पर्याप्त रहेको र यो निःशुल्क रहेको कार्यालयले जनाएको छ । सरकारको कुष्ठरोगमुक्त नेपाल बनाउने अभियानअन्तर्गत सबै जिल्लामा कुष्ठरोगको प्रकोपदर प्रतिदश हजार जनसङ्ख्यामा एकभन्दा कम गर्ने लक्ष्य छ ।

    आर्थिक वर्ष २०७५÷७६ मा नेपालमा तीन हजार दुई सय ८२ कुष्ठरोगका नयाँ बिरामी फेला परेकामा १४ वर्षमुनिका बिरामी तीन सय ३७ थिए ।

    दमौली अस्पतालका मेडिकल अधिकृत डा नवीन सुन्दास कुष्ठरोगबाट हुने अपाङ्गता न्यूनीकरणका लागि सचेतनाको खाँचो रहेको र समयमै उपचार गर्न सकिए अपाङ्गता हुनबाट बच्न सकिने बताउँछन् । –––