तनहुँका प्रजिअ रिजालले भने, ‘तनहुँ दोस्रो घर जस्तै लाग्छ’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका प्रजिअ रिजालले भने, ‘तनहुँ दोस्रो घर जस्तै लाग्छ’

    खबरपुञ्ज संवाददाता

    १८ माघ २०७९, बुधबार

    दमौली । तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले तनहुँ आफ्नो दोस्रो घर जस्तो लाग्ने बताएका छन् । सोमबार कार्यभार सम्हालेका रिजालले बुधबार जिल्लाका पत्रकारसँग आयोजित भेटघाटमा पर्वत जन्मघर भएपनि तनहुँ दोस्रो घरजस्तै लाग्ने बताए ।

    ‘विगतमा स्थानीय विकास अधिकारीको रुपमा यही जिल्लामा बसेर लामो समय काम गरे,’ उनले भने, ‘तनहुँको सबै भूगोल चिनेको छु, राजनीतिक संस्कार चिनेको छु ।’

    रिजालले विगतभन्दा अहिले भूमिका फेरिएको बताउँदै विगतमा जस्तै पत्रकारको सहयोगको अपेक्षा गरे । अहिले संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था रहेकाले लोकतन्त्र सुदृढीकरणका लागि पत्रकारले कलम चलाउनुपर्ने रिजालको भनाई थियो ।

    ‘नागरिक समाजको अंग पत्रकार जगत हो, जनजीविकाका सवाल र सुशासनका लागि पत्रकारले आवाज उठाउनुपर्छ,’ उनले भने ।

    शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन कायमका लागि आफू प्रतिबद्ध रहेको रिजालको भनाई थियो । ‘यसका लागि सबैको सहयोग पाउने अपेक्षा गरेको छु,’ उनले भने ।

    ठूलो जिल्ला र केन्द्रीय स्तरका नेता भएका जिल्ला झापामा बसेर आएको हुनाले यहॉ काम पुग्दैन की भन्ने लागेको बताउँदै रिजालले भने, ‘पूर्व प्रधानमन्त्री लगायत विभिन्न पार्टीका केन्द्रीय स्तरका नेता भएको जिल्लामा बसेर आएका हुनाले त्यहॉको अनुभवले यहॉ काम गर्न सहज हुन्छ ।’

    पत्रकारले दलीय आबद्धता भन्दा टाढा रहेर काम गर्नुपर्ने रिजालको सुझाव थियो ।