दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम दिन थालेको छ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत् गाउँपालिकाले महिलाहरुलाई सीपमूलक तालिम प्रदान गर्न थालेको हो ।
घरायसी कामकाजमा व्यस्त रहने महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउन विभिन्न तालिम दिन सुरु गरेको गाउँपालिकाका अधिकृत प्रदीप न्यौपानेले जानकारी दिए । ‘माग र आवश्यकताका आधारमा विभिन्न सीपमूलक तालिम दिइरहेका छौ,’ उनले भने, ‘यसले गर्दा महिलालाई आयआर्जनमा सहयोग पुग्ने विश्वास लिएका छौ ।’
म्याग्दे-२ जामुनेका महिलालाई अचार बनाउने तालिम प्रदान गरिएको छ । वडाका २४ महिलालाई पॉच दिनसम्म तालिम प्रदान गरिएको हो । सो क्रममा १५ प्रकारका अचार बनाउने सीप प्रदान गरिएको छ । सहभागीलाई गायत्री नेपालीले सीप सिकाएकी थिइन् ।
तालिमको समापन गर्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले महिलाहरु आत्मनिर्भर बन्नुपर्ने बताए । म्याग्देका महिलाले उत्पादन गर्ने अचारको बजारीकरणका लागि गाउँपालिकाले सहयोग गर्ने उनको भनाई थियो ।
प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले माग र आवश्यकता आधारमा सीपमूलक तालिम सञ्चालन गरिने बताए ।