दमौली । यातायात मजदुर संगठनले ट्राफिकको आतंक बढेको भन्दै तनहुँका प्रमुख जिल्ला अधिकारी मार्फत् सरकारलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले प्रमुख जिल्ला अधिकारी छविलाल रिजात मार्फत् बिहीबार ज्ञापनपत्र बुझाएको हो।
यातायात व्यवस्था विभाग, यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीले ऐन विपरित चालकको लाइसेन्स निलम्बन गरिरहेको भन्दै विज्ञप्तीमा जरिवानाका नाममा रकम असुली धन्दा चलाएको जनाइएको छ ।
यस विषयमा पटक-पटक ध्यानाकर्षण गराएपनि सुनुवाई नभएकाले आन्दोलनमा जानुको विकल्प नरहेको ज्ञापनपत्रमा जनाइएको छ।
ज्ञापनपत्रमा ट्राफिक प्रहरीको सडक आतंक बन्द गर्दै, कानुनको पालना गर्न, गराउन, निलम्बन तथा जफत गरिएका लाइसेन्स फिर्ता गर्दै ट्राफिक ज्यादतीको भण्डाफोर गर्न, जरिवानालाई कानुनसम्मत गर्दै ट्राफिक प्रहरीको रकम असुली धन्दा बन्द गर्न, चेकजाँचका नाममा सडकमा श्रमिकलाई दिइने प्रशासनिक हैरानी अन्त्य गर्न माग गरिएको छ।