अन्तरविद्यालय बास्केटबल रनिङशिल्ड सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    अन्तरविद्यालय बास्केटबल रनिङशिल्ड सुरु

    खबरपुञ्ज संवाददाता

    २९ माघ २०७९, सोमबार

    दमाैली । तनहुँको दमौलीमा अन्तरविद्यालय बास्केटबल रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । हैरान्स क्लवको आयोजनामा साेमबारदेखि व्यास नगरपालिका–३ मा प्रथम अन्तरविद्यालय रनिङशिल्ड बास्केटबल प्रतियोगिता सुरु भएको हो ।

    खेलमार्फत् पर्यटन प्रबद्र्धन र बास्केटबल खेलाडी उत्पादन गर्ने उद्देश्यसहित बास्केटबल प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष रविन पौडेलले बताए। पछिल्लो समय जिल्लामा बास्केटबल खेलतर्फ आकर्षण बढ्न थालेकाले विद्यालय स्तरदेखि नै विद्यार्थीलाई बास्केटबलप्रति रुची बढाउन प्रतियोगिता आयोजना गरिएको पौडेलको भनाई छ ।

    प्रतियोगिताको उद्घाटन गर्दै व्यास नगरपालिका–२ का वडाध्यक्ष काशीराम श्रेष्ठले बास्केटबलको राम्रो सम्भावना रहेकाले अनुशासित भई कला प्रदर्शन गर्न आग्रह गरे। श्रेष्ठले बास्केटबल खेल विकासका लागि नगरपालिकाका तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

    क्लवका सल्लाहकार एवं वडा सदस्य सुरेश वाग्लेले बास्केटबलको सम्भावना भएकाले केही समय अगाडी मात्रै व्यास नगरपालिकाले राष्ट्रपति रनिङशिल्डमा बास्केटबल खेललाई समावेश गरेको बताए।

    मङ्गलबारसम्म सञ्चालन हुने प्रतियोगितामा छात्रतर्फ आठ र छात्रातर्फ छ विद्यालयको सहभागिता रहेको खेल संयोजक उज्ज्वल भट्टराईले जानकारी दिए। प्रतियोगितामा प्रथम हुने विद्यालयले रनिङशिल्ड ट्रफी प्राप्त गर्नेछ ।

    प्रतियोगितामा छात्रतर्फ निर्मल माध्यमिक विद्यालय, सत्यवती माध्यमिक विद्यालय, व्यास बोर्डिङ स्कूल, दमौली कलेज, आदिकवि भानुभक्त क्याम्पस, कन्काई एकेडेमी, पराशर कलेज र बाराही कलेजको सहभागिता छ । छात्रातर्फ बाराही कलेज, सत्यवती माध्यमिक विद्यालय, व्यास बोर्डिङ स्कूल, निर्मल माध्यमिक विद्यालय, दमौली कलेज, पराशर कलेज र कन्काई एकेडेमी बोर्डिङ स्कूलको सहभागिता छ ।