दमौली । महाशिवरात्री पर्वको अवसर पारेर वेदव्यासभूमि दमौलीमा ध्यान र हवन साधना सुरु भएको छ । वेदव्यास वैद्विक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठानले बडागुरु वेदव्यासको जन्म तथा तपोभूमिमा ध्यान र हवन साधना सुरु गरेको हो ।
शनिबार बिहान ७ बजेदेखि सुरु भएको साधना आइतबार बिहानसम्म सञ्चालन हुने संस्थाले जनाएको छ । बिहीबार बिहान प्रतिष्ठानको दमौली स्थित आश्रममा चार घण्टा योग साधना पश्चात् मादीसेती सङ्गममा जल तथा जल तटमा मृत्युञ्जय भैरव साधना गरिएको थियो । उत्त साधना पश्चात् पुनः आश्रममा चार घण्टा विभिन्न साधना सहित शक्तिपात साधना सञ्चालन गरिएको प्रतिष्ठानका अध्यक्ष ध्यानाचार्य खेमराज अधिकारीले बताए ।
त्रयोदशी तिथि महाशिवरात्री र शनिबारको संयोग बिरलै हुने हुँदा अहिलेको शिवरात्रीमा साधकहरुलाई विशेष शक्ति साधना, रोग निवारक साधना, धनलाभ साधना, शत्रु नाशक साधना प्रदान गरिएको उनी बताउँछन् ।
साधनामा तनहुँसँगै चितवन लगायत केही जिल्लाबाट साधकहरु सहभागी भएको संस्थाका प्रवक्ता सुदीप काफ्लेले जानकारी दिए ।
संस्थाले वेदव्यासको जन्मभूमिलाई केन्द्रमा राखेर आध्यात्मिक कार्यहरु गर्ने अभियानका रुपमा अन्य कार्यक्रमहरुसँगै यस वर्षदेखि विद्यालयहरुमा सकारात्मक सोच विषयक प्रशिक्षण कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको संस्थाका सचिव दीर्घ दरैले जानकारी दिए ।