दमौली । जबरजस्ती करणी अभियोगमा एक वर्षदेखि कारागारमा थुनामा रहेका नायक पूर्णविक्रम (पल) शाह सोमबार कारागारमुक्त भएका छन् । जबरजस्ती करणी अभियोगमा फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेपछि फागुन १५ गते आत्मसमर्पण गर्नुभएका नायक शाह सोमबार अदालतको फैसला बमोजिम रिहा भएका हुन् ।
नवलपुर अदालतले बाल यौन दुराचारको मुद्धामा साढे दुई वर्ष कैद र रु दश लाख जरीवानाको फैसला सुनाएकामा उच्च अदालतको आइतबारको फैसला बमोजिम शाहले सफाइ पाएको उनका कानून व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिए ।
उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले नायक शाहलाई सफाई दिएको हो ।
नवलपुर अदालतको फैसला विरुद्ध शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए । उच्च अदालतको आइतबारको इजलासले उक्त मुद्धामा अभियोग दावी नपुग्ने ठहर गरेको उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए ।
उच्च अदालत पोखराले सफाई दिएपछि अभिनेता शाहलाई कारागारमुक्त गरिएको कारागार तनहुँका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिए । शाह रिहा हुने खबर पाएलगत्तै कारागार अगाडी बिहानैदेखि शुभेच्छुकको भीड रहेको थियो ।
नाबालिक जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका नायक पल शाहलाई तनहुँ अदालतले भने सफाई दिइसकेको थियो । नावालिकमाथि जबरजस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ र फागुन नवलपुर प्रहरीमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।