महिला हाफ म्याराथनको उपाधि जुम्लाकी न्यौपानेलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    महिला हाफ म्याराथनको उपाधि जुम्लाकी न्यौपानेलाई

    खबरपुञ्ज संवाददाता

    २४ फाल्गुन २०७९, बुधबार

    दमाैली । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा व्यास नगरपालिकाले बुधबार आयोजना गरेको महिला हाफ म्याराथनको उपाधि जुम्लाकी पूर्णलक्ष्मी न्यौपानेले जितेकी छन् ।

    व्यास नगरपालिका–३ व्यासगुफादेखि व्यास नगरपालिका–११ तनहुँसुरसम्मको २१ किलोमिटर दूरी एक घण्टा ४७ मिनेट ५१ सेकेण्डमा पार गर्दै न्यौपानेले उपाधि जितेकी हुन् । न्यौपाने त्रिभुवन आर्मी क्लवमा आबद्ध छिन् ।

    सोलुखुम्बुका अनिता राई एक घण्टा ५२ मिनेट २४ सेकेण्डमा उक्त दूरी पार गर्दै द्वितीय भएकी छन् । जुम्लाका विश्व रुपा बुढा मगर तृतीय भएका थिए । उनले उक्त दूरी एक घण्टा ५७ मिनेट ३२ सेकेण्डमा पूरा गरिन्। गुल्मीका गीता विक चौथो भइन् । उनले उक्त दूरी एक घण्टा ५९ मिनेट पाँच सेकेण्डमा पार गरिन् ।

    गोरखाका अमृता गुरुङ दुई घण्टा नौ मिनेट २४ सेकेण्डमा उक्त दूरी पार गर्दै पाँचौ भइन् । नवलपरासीका सीमा चौधरी दुई घण्टा १५ मिनेट ४७ सेकेण्डमा उक्त दूरी पार गर्दै छैटौ भइन् ।

    महिला माफ म्याराथनमा ६४ धावकको सहभागिता थियो । प्रतियोगितामा प्रथम हुनेलाई रु ४१ हजार ७९, द्वितीय हुनेलाई रु ३१ हजार ७९, तृतीय हुनेलाई रु २१ हजार ७९ र सान्त्वना हुने तीन जनालाई जनही रु ११ हजार ७९ का दरले पुरस्कार वितरण गरिएको छ।

    व्यासगुफादेखि सुरु भएको दौड अनसनचौतारी, दुर्गामन्दिर, भोर्लेटारचोक, गणेशमानचोक, वनकार्यालय, सफासडक हुँदै पृथ्वीराजमार्गको तालघरे, बाराहीरानी मार्गको रानीगाउँ, दरैपधेरा, पराजुलीचोक, पराशर मार्गको बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गङ्गलथोक, पत्यारचोक, चण्डिथान, गद्धीचौतारा हुँदै व्यास–११ स्थित ऐतिहासिक तनहुँसुरदरवारसम्म पुगेर सकिएको थियो ।

    नगरपालिकाले म्याराथनलाई पर्यटन प्रबद्र्धनसँग जोड्न खोजेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । व्यासको जन्मभूमि दमौली र ऐतिहासिक स्थल तनहुँसुरलाई खेलबाट जोड्न महिला म्याराथनले सहयोग पुग्ने विश्वास लिएको न्यौपानेले बताए ।

    जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले खेलकुदका माध्यमबाट दुई ऐतिहासिक ठाउँ जोड्ने प्रयास सराहनीय रहेको बताए । महिलामा पनि पुरुष सरह आँट छ भन्ने सन्देश दिन महिला हाफ प्रतियोगिता आयोजना गरिएको व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले बताइन् ।