दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको खुसीयालीमा गृहजिल्ला तनहुँको दमौलीमा दीप प्रज्ज्वलन गरिएको छ । व्यास नगरपालिका–३ अनसनचौतारीमा बिहीबार साँझ दीप प्रज्ज्वलन गरिएको हो ।
नेपाल विद्यार्थी सङ्घ भानुभक्त क्याम्पस इकाईको आयोजनामा दीप प्रज्ज्वलन गरिएको हो । दीप प्रज्ज्वलनमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, नेपाली काङ्ग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल लगायत नेता तथा कार्यकर्ता सहभागी थिए ।
कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख न्यौपानेले लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पौडेल राष्ट्रपतिमा निर्वाचित हुँदा तनहुँको गौरव बढेको बताए ।
तनहुँको विकास, लोकतन्त्र संरक्षण, अधिनायकवादको अन्त्यका लागि पौडेलले खेलेको भूमिका अतुलनीय रहेको न्याैपानेले बताए ।