दमाैली । तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेको बन्दीपुर केबलकारको साधारण शेयरको सार्वजनिक निष्काशन (आइपिओ) खुल्ला गरिने भएको छ । बन्दीपुर केबलकार स्ण्ड टुरिजम लिमिटेडले शेयरको सार्वजनिक निष्काशनका लागि नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडसँग सम्झौता गरेको छ ।
लिमिटेडको प्रति शेयर अङ्कित मूल्य रु एक सय दरका २५ लाख ८० हजार कित्ता साधारण शेयर प्रचलित कानून बमोजिम सार्वजनिक निष्काशन तथा विक्रीका लागि बैङ्किङ लिमिटेडसँग सम्झौता भएको हो ।
नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडको कार्यालयमा बुधबार आयोजित एक समारोहमा लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका तर्फबाट अध्यक्ष रामचन्द्र शर्माले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
रु तीन अर्ब ४९ करोड कूल परियोजना लागत रहेको कम्पनीको चुक्ता पुँजी रु दुई अर्ब पन्ध्र करोड रहेको अध्यक्ष शर्माले जानकारी दिए। त्यसमध्ये चुक्ता पुँजीको दुई प्रतिशत अर्थात् रु चार करोड ३० लाख परियोजना प्रभावित स्थानीयवासीलाई छुट्याइनेछ । चुक्ता पुँजीको दश प्रतिशत रु २१ करोड ५० लाख सर्वसाधारणलाई छुट्याइने शर्माले बताए।
बन्दीपुर गाउँपालिका–४ स्थित रजिष्टर्ड कार्यालय रहेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको स्थापना विसं २०६९ पुस २२ गते भएको हो । परियोजना निर्माणको कार्य विसं २०७६ साउन ४ गते सुरु भएको थियो । कम्पनीले केबलकार, सत्र तल्ले आकर्षक र अत्याधुनिक सुविधासम्पन्न पाँच तारे होटल, आठ सय क्षमताको हल, विवाह घर, स्वास्थ्य क्लव, मेडिटेशन सेन्टर, स्पा, सेभेन आकारकै लामो जीप लाइन, बन्जी जम्प, ७२ मिटर लामो क्यान्टि लिभर सहितको सिसाको पुल, क्विन टावर लगायतका पूर्वाधार निर्माण गर्दैछ ।
केबलकारको तल्लो स्टेशनमा गुणस्तरीय खानाका परिकार उपलब्ध गराउनका लागि सुविधासम्पन्न टुरिष्ट कोर्ट, बाह्य बगैंचा सहितको आधुनिक बहुआयामिक टर्मिनल भवन निर्माण भइरहेको छ ।
कम्पनीले विसं २०८० वैशाख २५ गते केबलकारको सञ्चालन परीक्षण गर्ने तयारी थालेको छ । विसं २०८० मङ्सिर १ गते सत्र तल्ले होटल सञ्चालनको तयारी सहित काम भइरहेको छ । तल्लो स्टेशनमा टुरिष्ट कोर्ट विसं २०८० साउन १ गते सञ्चालन गर्ने तयारी छ ।