दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरि स्थित पिपलटार खानेपानी ट्याङ्कीमा महिलाको हत्या गरी फालेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रे पाँचखाल नगरपालिका वडा नम्बर ५ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ७ बस्ने घारीपाटन बस्ने ३५ वर्षीय चित्र नामले चिनिने प्रकाश सुनार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए । निज अभियुक्तलाई बिहीबार शुक्लागण्डकी नगरपालिका–१ थप्रेकबाट पक्राउ गरी सार्वजनिक गरिएको छ ।
निज अभियुक्तले गत फागुन २१ गते ट्याङ्की नजिक महिलाको टाउकोमा इट्टाले हानी कर्तव्य गरी शव खानेपानी ट्याङ्कीमा फालेका थिए । महिलाको शव गत चैत १२ गते ट्याङ्कीभित्रबाट फेला परेको थियो । स्थानीय उपभोक्ताका घरघरमा लगिएको खानेपानीमा गन्ध आएको गुनासो आएपछि ट्याङ्की खोलेर हेर्दा महिलाको शव फेला परेको थियो ।
मृतक महिलाको कानको लोती च्यातिएको, घाँटीमा रातो डाँम देखिएको र निधारमा काटिएको जस्तो घाउचोट देखिएको प्रहरीले जनाएको छ ।
मृतक महिला र अभियुक्त सुनारबीच विगत दुई वर्षदेखि चिनजान रहँदै आएको थियो । सुनारले मृतक महिलालाई रु दश हजार सापटी दिएको र सुनारले उक्त पैसा फिर्ता माग्दै आएका थिए । महिलाले छोरा बिरामी भएको र अहिले पैसा नभएको र पछि दिने भन्दै आनाकानी गरिरहेको अनुसन्धाबाट देखिएको प्रहरी उपरिक्षक विष्टले जानकारी दिए ।
फागुन २१ गते निज महिला र अभियुक्त सुनार पोखराबाट तनहुँको थर्पु आएको खुलेको छ । महिलाले थर्पुमा एक व्यक्तिसँग पैसा लिएर सुनारलाई दिन्छु भनेपछि उनीहरु सँगै आएको खुलेको प्रहरीले जनाएको छ । सोही राति अभियुक्त सुनारले महिलाको हत्या गरेको खुल्न आएको प्रहरी उपरिक्षक विष्टले जानकारी दिए ।
निज महिला पोखरा अमरसिंह चोकमा फलफूल तथा बदाम पसल सञ्चालन गर्दै आएकी थिइन् । विसं २०७९ फागुन २१ गते पोखराको अमरसिंहचोकबाट हराएको भन्दै छोरा २० वर्षीय मनिष श्रेष्ठले प्रहरी कार्यालय कास्कीमा निवेदन दिनुभएको थियो । निजको श्रीमान् विगत तीन वर्ष अघिदेखि नै मृत्यु भइसकेको थियो । छोरा पोखरा महानगरपालिका वडा नम्बर ३३ बाघमारामा बस्दै आएका थिए ।
पक्राउ परेका अभियुक्तलाई विसं २०६७ सालमा महिलाको हत्याको अभियोगमा पक्राउ गरी २० वर्ष कैद फैसला सुनाइएको थियो । निज अभियुक्तले मृतक महिलाको सुन पोखरामा लगेर विक्री गरेका थिए । सोही घटनामा अभियुक्तले सुन बेचेको पसलका सञ्चालक पोखरा महानगरपालिका वडा नम्बर २ २ अर्चलकोट घर भई पोखरा महानगरपालिका वडा नम्बर ४ मा महेन्द्रपुलमा रजनी सुनचाँदी पसलका सञ्चालक ४० वर्षीय रविनकुमार गहतराजलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
“गहना तथा नगद समेत लुटपाट गरेको देखिन आएकाले घटनामा संलग्न व्यक्ति पहिचानका लागि अनुसन्धान टोली विभिन्न ठाउँमा खटिएको थियो,” प्रहरी उपरिक्षक विष्टले भने, “घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।” निज अभियुक्तले एक्लैले महिलाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । “हालसम्मको अनुसन्धन हेर्दा सापटी दिएको रु दश हजार फिर्ता माग्दा हत्या भएको जस्तो देखिएको छ,” विष्टले भने ।