दमौली । नेपाली कांग्रेस भिमाद नगर समितिले नगरपालिकाको शिक्षा शाखामा गरेको तालाबन्दी खुलेको छ । नगरपालिकासँग सहमति गर्दै कांग्रेसले ताला खोलेको हो ।
नगरप्रमुख दधिराज सुवेदीको पहलमा दुवै पक्षबीच सहमति गरी शिक्षा शाखामा लगाइएको ताला आइतबार सॉझ खोलिएको छ ।
सहमतिपत्रमा नगरपालिकाको शिक्षा शाखाबाट भएका कार्यहरुमा सरोकारवाला पक्षहरुको गुनासो आएकाले सो सम्बन्धमा उक्त शाखाबाट भएका कार्यहरु पारदर्शी रुपमा समय संगत रुपमा गर्ने र विगतमा कुनै कमी कमजोरी भएका भएमा सुधार गरी अगाडी बढ्ने उल्लेख छ ।
त्यस्तै भिमाद नगरपालिका स्थित सामुदायिक विद्यालयहरुले नगरपालिकाबाट शिक्षकहरु थप गर्दागर्दै पनि विद्यार्थीहरुबाट चर्को शुल्क लिने गरेको गुनासो आएकाले सो विषयमा अनुगमन निरीक्षण गर्ने र निःशुल्क पठनपाठनको व्यवस्था मिलाउने, प्रधानाध्यापक नियुक्ति गर्दा निजहरुको योग्यता, क्षमता र दक्षताका आधारमा नियुक्ति गर्ने र शिक्षक सरुवाको हकमा कार्यसम्पादन, सेवा अवधि, आवश्यक विषय शिक्षक र प्राकृतिक न्यायको सिद्धान्तका आधारमा गर्ने लगायतका सहमति भएको छ ।