पाेखरा । पोखरामा सम्पन्न बलियो नेपाल कप अन्तर एकेडेमी टी २० क्रिकेट प्रतियोगितामा प्रदीप अर्याल सर्वोत्कृष्ट बलर बनेका छन् । पोखरामा सोमबार सम्पन्न भएको प्रतियोगितामा पोखरा क्रिकेट एकेडेमीका खेलाडी अर्याल सर्वोत्कृष्ट बलर बनेका हुन् ।
उनले चार खेलमा दश विकेट लिएका थिए । सर्वोत्कृष्ट बलरको उपाधिसँगै अर्यालले नगद रु सात हजार प्राप्त गरेका छन् । उनलाई पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले ट्रफी र चेक हस्तान्तरण गरे ।
तनहुँको भिमाद नगरपालिका–७ निवासी अर्याल विगत डेढ वर्षदेखि क्रिकेट खेलमा आबद्ध छ । उनी तनहुँ जिल्लाको टिमबाट क्रिकेट खेल्छन् । यसका साथै गण्डकी प्रदेशको टिममा पनि उनी वैकल्पिक खेलाडी हुन् ।
स्टार एकेडेमीले जित्यो बलियो नेपाल कपको उपाधि
यसैबीच प्रतियोगिताको उपाधि स्टार क्रिकेट एकेडेमीले जितेको छ । पोखरा रंगशालामा सोमबार भएको फाइनल खेलमा कर्णाली एकेडेमीलाई ७ विकेटले पराजित गर्दै स्टार क्रिकेट एकेडेमीले उपाधि जितेको हो ।
उपाधि जितेको स्टार एकेडेमीले ट्रफिसहित ५० हजार र उपविजेता बनेको कर्णाली एकेडेमीले २५ हजार रुपैयाँ प्राप्त गर्यो ।
७३ रनको लक्ष्य पछ्याएर ब्याटिङ सुरु गरेको स्टार एकेडेमीले ९ ओभर ५ बलमा ३ गुमाएर पूरा गर्यो । स्टारका लागि ओपनर अनमोलले सर्वाधिक २५ रन बनाए । कप्तान अमर मिश्रले २२ रन, विशालले ८ रन बनाउँदा अंकितले अविजित १५ रन बनाए । बलिङतर्फ कर्णालीका सन्दिप ठकुरी, भरत क्षेत्री र आदित्य शाहले समान १ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै ७२ रनमा समेटिएको थियो । कर्णालीका बिराट भण्डारीले सर्वाधिक १५ रन, रोशनले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरा अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ स्टारका लागि सुमित पराजुलीले सर्वाधिक ३ विकेट ल्याए । ४ ओभर बलिङ गरेको सुमितले १७ रन खर्चिंदै ३ विकेट लिन सफल भए । शुभम खनालले २, कप्तान अम मिश्र, निर्मल गुरुङ र महेश भरले समान १ विकेट ल्याए । फाइनल खेलको प्लेयर अफ द म्याच स्टार क्रिकेट एकेडेमीका सुमित बने ।