दमौली । नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठ किसानले मंसिर ४ गतेको गुन यसपटक तिर्ने अवसर आएको बताएका छन् । भानु नगरपालिका-२ मा सोमबार आयोजित तरुण युवाको भेलालाई सम्बोधन गर्दै श्रेष्ठले मंसिर ४ मा आफूले कांग्रेसको मतले जितेकाले यसपटक त्यसको गुन तिर्ने बताए ।
‘बारा-४ मा म कलम बलियो भएर जितेको होइन, त्यहॉ कांग्रेसको मतले जितेको हूँ,’ उनले भने, ‘त्यसको गुन कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई जिताएर छाड्छु ।’
संघीयता, लोकतन्त्र संरक्षणका लागि भट्टराईले जित्नैपर्ने अवस्था रहेको श्रेष्ठको भनाई थियो ।
श्रेष्ठले विपक्षी उम्मेदवारलाई लक्षित गरी फेसबुक र युट्युवमा हल्लाखल्ला गरेर चुनाव जितिन्छ भनेर नसोच्न चेतावनी दिए । तनहुँका जनता सचेत रहेको भन्दै उनले भने, ‘कोही तनहुँमै जन्मिएको भनेर आएका छन्, कोही फेसबुकमा हल्ला गरिरहेका छन् ।’