खानेपानी ट्यांकीमा शव भेटिएको प्रकरण : बलात्कारपछि हत्या गरेको अभियुक्तद्वारा स्वीकार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    खानेपानी ट्यांकीमा शव भेटिएको प्रकरण : बलात्कारपछि हत्या गरेको अभियुक्तद्वारा स्वीकार

    खबरपुञ्ज संवाददाता

    १९ बैशाख २०८०, बुधबार

    दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित खानेपानी ट्याङ्कीमा शव भेटिएकी महिलाको बलात्कार भएको अभियुक्तले स्वीकार गरेका छन् । काभ्रेको पाँचखाल घर भई पोखरा महानगरपालिका–७ घारीपाटन बस्ने ३५ वर्षीय प्रकाश सुनारले शान्ति श्रेष्ठको हत्याअघि बलात्कार गरेको स्वीकार गरेका हुन् ।

    अभियुक्त सुनारले गत फागुन २१ गते श्रेष्ठको हत्या गरी खानेपानी ट्याङ्कीमा शव फालेका थिए । महिलाको शव चैत १२ गते फेला परेको थियो । उपभोक्ताको घरघरमा वितरण गरिएको खानेपानीमा दुर्गन्ध आएको गुनासो आएपछि ट्याङ्की खोलेर हेर्दा शव भेटिएको थियो ।

    बलात्कारको मुद्धाबाट जोगिन अभियुक्तले श्रेष्ठको हत्या गरि खानेपानीको ट्याङ्कीभित्र शव फालेको स्वीकार गरेका छन् । सुनारले अनुसन्धान अधिकारीहरुसँग उक्त बयान दिएको प्रहरीले जनाएको छ ।

    जिल्ला सरकारी वकिल कार्यालय तनहुँले गत वैशाख ११ गते सुनारको विरुद्धमा तनहुँ जिल्ला अदालतमा जन्मकैदको माग सहित कर्तव्य ज्यान सम्बन्धी मुद्धा दर्ता गरेको छ । अदालतको आदेशले सुनार हाल पुर्पक्षको लागि जिल्ला कारागारमा थुनामा छन् ।

    पक्राउ पछि बयान लिने क्रममा अभियुक्त सुनारले हत्या गर्नु अघि ट्याङ्की भन्दा केही माथि रहेको गोठमा लगेर श्रेष्ठको बलात्कार गरेको बताएका छन् । अभियुक्तका अनुसार उनी र ती महिलाबीच केही वर्ष अघिदेखि नै शारीरिक सम्बन्ध रहँदै आएको थियो ।

    सोही क्रममा मृतकले सुनारसँग रु दश हजार सापटी लिएकी थिइन् । तर पटक– पटक माग्दा समेत श्रेष्ठले उक्त रकम फिर्ता नगरेको तर कानमा महङ्गा सनुका गहना लगाएको देखेपछि धम्काएर पैसा फिर्ता मागेका थिए ।

    श्रेष्ठले आफूलाई थर्पुको एक जना मान्छेले रु दश हजार दिन्छु भनेपछि रातिको समयमा उक्त पैसा माग्न श्रेष्ठ र अभियुक्त सुनार थर्पु आएका थिए । उनीहरु गाडीबाट मनहरीमा झरेपछि श्रेष्ठ पैसा दिने मान्छेको घर जाने बाटो भुलें, मोवाईल नम्बर पनि छैन भनेपछि आफूलाई झुक्याएको ठानी ट्याङ्की भन्दा केही माथि रहेको खाली गोठमा लगेर बलात्कार गरेको सुनारले बताएका छन् ।

    निज अभियुक्त कर्तव्य ज्यान मुद्वामा कैद भुक्तान गरेर छुटेका थिए । सुनारले कास्कीको जैकोट सामुदायिक वनमा स्याङ्जाकी महिलाको हत्या गरेपछि कर्तव्य ज्यान मुद्वामा दश वर्ष कैद भुक्तान गरेर विसं २०७७ फागुन ७ गते कारागारबाट छुटेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश विष्टले बताए । (आजको लोकवाणी दैनिकबाट)