


तनहुँ १३ कात्तिक । व्यास नगरपालिका नगर खेलकुद समितिको आयोजनामा आजदेखि दमौलीमा सुरु भएको प्रथम व्यास मेयर कप इलेभेन ए साइड फुटबल प्रतियोगितामा व्यास नगरपालिका–७, ३ र ५ विजयी भएको छ ।
व्यास नगरपालिका–३ विपी वनवाटिका खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा व्यास नगरपालिका–७ ले व्यास नगरपालिका–१३ लाई ५–१ गोल अन्तरले पराजित गरेको नगर खेलकुद समितिका अध्यक्ष जीवन गुरुङले जानकारी दिए ।
यस्तै दोस्रो खेल व्यास नगरपालिका–३ र ४ बीच भएकामा व्यास नगरपालिका–३ ले ४ लाई २–० ले पराजित गरेको छ ।
तेस्रो खेल व्यास नगरपालिका–५ र १२ बीच भएकामा व्यास नगरपालिका–५ ले १२ लाई ४–० गोलले पराजित गरेको छ ।
प्रतियोगिताका लागि नगर खेलकुद विकास समितिबाट रु पाँच लाख र प्रत्येक वडाबाट रु एक÷एक लाख खर्च हुनेछ । प्रतियोगितामा नगरका १४ वटै वडाको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुने टोलीले रु एक लाख, द्वितीय हुने टोलीले रु ७५ हजार र तृतीय हुने टोलीले रु ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई पनि पुरस्कृत गरिनेछ ।