दमौली । तनहुँको बन्दीपुर-५ ऑधीखोलामा बुधबार भएको ट्रक दुर्घटनाको घटनाप्रति बन्दीपुर गाउँपालिकाले दुख व्यक्त गरेको छ । दुर्घटनामा मृत्यु भएका तीन जनाप्रति समवेदना व्यक्त गर्दै गाउँपालिकाले घाइतेको स्वास्थ्य लाभको कामना गरेको छ ।
डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नं.को ट्रक अचानक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किएर दुर्घटना हुँदा बन्दीपुर ५ का ५० वर्षीय चेतबहादुर घर्ती, ६९ वर्षीय सन बहादुर भुजेल र १२ वर्षीय आयुष भुजेलको मृत्यु भएको थियो ।
पालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठद्वारा बिहीबार जारी शोक वक्तव्यमा भनिएको छ, ‘ मृतक आत्माको चीर शान्तिको कामना गर्दै उक्त दुर्घटनामा परी चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत बन्दीपुर ५ का ६ वर्षीया आयुषा भुजेल, १० वर्षीया जस्मिन भुजेल, १० वर्षीय ईश्वर भुजेल, ८ वर्षीय समिर भुजेल र ५ वर्षीय सन्तोष भुजेलकाे स्वास्थ्य लाभको कामना गर्दछौं।’
उक्त दुर्घटनामा घाइतेहरुको उद्धार तथा उपचारमा संलग्न सुरक्षाकर्मी, चिकित्सक स्थानीय जनप्रतिनिधि, संघ संस्थाका प्रतिनिधिहरु, स्थानिय जनसमुदाय, पत्रकार लगाएत सम्पूर्ण सहयोगीहरुलाई विशेष आभार व्यक्त गरिएको छ ।