सन्दर्भ ट्राफिक सप्ताह र एजेण्डा दमौली बजार क्षेत्रको सिसि क्यामेरा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • फिचर

    सन्दर्भ ट्राफिक सप्ताह र एजेण्डा दमौली बजार क्षेत्रको सिसि क्यामेरा

    रविन पाैडेल

    २५ बैशाख २०८०, सोमबार

    सोमबारदेखि दमौलीमा सप्ताहव्यापी रुपमा ट्राफिक सप्ताह मनाइरहँदा ट्राफिक व्यवस्थापनमा अहम् भुमिका रहने सिसि क्यामेराका केही पक्ष र पाटाहरु बारे विवेचना गर्नु सान्दर्भिक लागेर यो लेख लेख्ने जमर्को गरेको छु ।

    सवारी व्यवस्थापन, दुर्घटना न्युनिकरण, सुरक्षित वातावरण निर्माणमा आधुनिक समयमा सिसि क्यामेराको महत्वपुर्ण भुमिका रहने मनन गरेर नै हुनुपर्दछ । दमौली बजारमा पहिलो पटक तनहूँ उद्योग वाणिज्य संघले महोत्सवबाट संकलन गरेको रकमको केही हिस्सा सामाजिक उत्तरदायित्व अन्र्तगत सिसि क्यामेरा जडानमा खर्चिएको थियो ।

    सुरुमा संघले क्यामेराको व्यवस्थापन गरे पनि मर्मत र रेखदेखमा झन्झट अनि बजेट समेत अभाव भएपछि जिल्ला प्रहरी कार्यालयलाई सबै व्यवस्थापन हस्तान्तरण गरेको थियो । सो बखत दमौलीका केही मुख्य स्थानमा क्यामेरा जडान गरिएको थियो यद्यपि क्यामेराको गुणस्तर भने सुरुवातदेखि नै सन्तोषजनक रहेको थिएन ।

    दमौली वजारलाई सुरक्षित बनाउने वडा नं ३ को योजना अन्र्तगत पुन २ दर्जन सिसि क्यामेरा, भिआर, मनिटर जिल्ला प्रहरी कार्यालयको मातहतमा रहने गरी थप गरियो । क्यामेरा जडान पश्चात् मर्मत सम्भारको जिम्वेवारी क्यामेराको रेखदेख र मर्मतको जिम्मा पछिल्लो समयमा लगभग जिल्ला प्रहरी कार्यालयका चौथरी थरका एक जुनिएर अधिकृतको एक्लो जिम्मेवारी बन्न पुुगेको अवस्था रहेछ ।

    केही दिन अगाडि दमौलीको व्यस्त र मुटु मानिने नपा भवन अगाडि सफा सडकमा एक स्कुटरले २ जनालाई ठक्कर दिएको घटना अनुसन्धान गर्ने क्रममा स्वयं प्रहरी नगरपालिकामा राखिएको केही थान सिसि क्यामेरा र व्यवसायीको नीजि प्रयोजनका घरमा राखिएको क्यामेराको रेकर्ड हेर्न दौडधुपमा जुट्यो ।

    प्रहरी कार्यालयमा नै बजारभरका सिसि क्यामेराको मनिटर रहेको अवस्थामा व्यक्तिको घरघरमा प्रहरी कुदेको देख्दा सिसि क्यामेरा मार्फत् बजार सुरक्षित राख्नुपर्छ भन्ने एक अभियन्ताका हिसाबले मलाई अचम्म लाग्यो ।

    अचम्म लाग्नुको अर्को कारण पनि छ, विगतमा कमजोर क्षमताका क्यामेराका कारण पटक पटक सास्ती बेहोर्नुपरेका कारण हामीले पछिल्लो समय वडा नं.३ का मुख्य स्थानहरुमा उच्च क्षमताका नाइट भिजन सहितका पिटिजेड क्यामेरा जडान गरेका थियौँ र हराएको औँठी समेत सोही क्यामेराको सहयोगमा फेला पारेका थियौँ । तर अहिले एउटा दुर्घटनाको क्यामेरा फुटेजका लागि प्रहरी व्यक्तिको घरमा धाइरहेको थियो ।

    व्यास नगरपालिकामा टोल विकास संस्थाहरुले सफा सडक क्षेत्रको सिसि क्यामेराको मनिटर, भिआर राखेका रहेछन् क्यामेरामा घटना कैद त भएको थियो तर कमजोर क्षमताका क्यामेराका कारण कुनै पनि पक्ष उक्त भिडियो मार्फत् पत्ता लगाउन प्रहरी असमर्थ रह्यो ।

    सिसि क्यामेरा मार्फत् बजारलाई सुरक्षित बनाउनुपर्छ भन्ने अभियानमा लाग्दा प्रहरी कार्यालयको सञ्चार फाँट समेत रहेको सिसि क्यामेरा मनिटर गरिने शाखासँग म लामै समयदेखि जोडिएको हुँदा उक्त घटना बारे जानकारी लिन सो शाखामा पुगें । सञ्चार शाखामा आधा दर्जन भन्दा बढी प्रहरी खटिएको प्रष्ट देखिन्थ्यो तर सवै मनिटरहरु स्विच अफ भएको अवस्थामा देखें त्यहाँ रहेका प्रहरीसँग सिसिटिभि फुटेजबारे जिज्ञासा राखें उहाँहरुले सबै पक्षबारे अनभिज्ञता प्रकट गर्नुभयो । सो शाखा हेर्ने चौधरी २ महिना लामो प्रशिक्षणबाट सोही बखत कार्यालयमा हाजिर हुन आएका रहेछन् । उनी शाखा छिरे पछि बल्ल स्वीच अफ रहेका मनिटर स्विच अन भए । उनले पनि सिसि क्यामेरा बारे प्रहरी कार्यालय र व्यास नगरपालिकाले चासो नराखेकोमा चिन्ता प्रकट गर्दै निराश देखिए । क्यामेरा मर्मतका लागि पोलमा चढेको र आँफै प्राविधिक बनेर स्पाइसिङ गरेको देखेको प्रहरी निरास देख्दा मलाई पनि नमजा लाग्यो र स्रोत साधन हूँदा हूँदै सामान्य मर्मतका कारण दमौली बजार असुरक्षित देख्दा नलेखी बस्न सकिन ।

    सामान्य मर्मत पछि प्रहरीले निगरानी कक्षबाटै दमौली बजार क्षेत्र निरिक्षण गर्न सक्ने अवस्था रहेको छ । दमौलीका हरेक नाकामा सिसि क्यामेरा जडान गरिएको छ । फिल्डमा गस्ती नगरिकनै कन्ट्रोल रुमबाटै बजारको शान्ति सुरक्षा रेखदेख गर्न सकिने अवस्था हुँदाहुँदै प्रहरी दुर्घटनाको अनुसन्धान गर्न घर घर दौडँदा समेत सफल नहुने घटना आगामी दिनमा दोहोरिन नदिन सरोकारवाला सबैको ध्यान पुगोस् ट्राफिक सप्ताह सफलताको शुभकामना ।