होटलमा ग्राहकको छुरा हानेर हत्या
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    होटलमा ग्राहकको छुरा हानेर हत्या

    खबरपुञ्ज संवाददाता

    २७ बैशाख २०८०, बिहीबार

    काठमाडौ । धादिङको गल्छी गाउँपालिका–८ गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित एक होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरिएको छ ।

    बुधबार बेलुका खाजा खान गएका गल्छी–८ कटलपौवाका २७ वर्षीय विनोद थापामगरलाई निबुवा बोटेस्थित ‘सानदार होटल’का सञ्चालक २८ वर्षीय नीरज पण्डितले छुरा प्रहार गरी हत्या गरेका हुन् ।

    आरोपितलाई रातिनै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मजित थिङले जानकारी दिए । खाजा खाएपछि होटल सञ्चालकसित पैसा तिर्नेबेला भनाभन भएको बताइएको छ । खाजा खाएको पैसा तिरेपछि बाँकी रकम फिर्ता लिनेक्रममा दुवै पक्षबीच झगडा भएको प्रहरीले जनाएको छ ।

    घटनापछि पण्डित फारर भएका थिए । घाइते थापामगरको उपचारका क्रममा काठमाडौँको नर्भिक अस्पतालमा मृत्यु भएको हो । प्रहरीले पण्डित, उनकी आमा सरस्वतीसहित छ जनालाई पक्राउ गरेको छ । “घटनाबारे अनुसन्धान भइरहेको छ”, प्रहरी निरीक्षक थिङले भने । घटनापछि स्थानीयवासीले गल्छी–त्रिशूली सडकखण्ड गए रातिदेखि नै बन्द गराएका छन् ।